झापा, ३ पुस । मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड गरेको आरोपमा मंगलवार राति पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरी आज रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालयमा २० हजार रुपैयाँ धरौटी तिरेर उनी आठ दिन पछि रिहा भएका हुन् ।उनीमाथि मुख्यमन्त्रीको गाडीमा भएको तोडफोडको ५ लाख रुपैयाँको बिगो हालिएको थियो । अभद्र व्यवहारसम्बन्धी मुद्धा दायर गरिएका चौधरीलाई धरौटीमा रिहा गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अर्जुनधारा निवासी चौधरी कांग्रेसका महाधिवेशन प्रतिनिधिसमेत रहेका उनी प्रदेश १ पुनः नामाकरण संघर्ष समिति झापाका संयोजक हुन् । प्रहरीले उनलाई गत मंसिर २६ गते दमकमा मुख्यमन्त्री कार्की सवार गाडी माथि आक्रमण गरेको आरोपमा घरैवाट नियन्त्रणमा लिएको थियो ।
बन्द हड्तालमा उत्रिएका पूर्वमन्त्री गोपाल किरातीसहितका अन्य नेताहरु आइतवार साँझ नै रिहा भइसकेका छन् ।