दमक,३ पुस । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले शैक्षिक विकासमा सवै क्षेत्रको योगदान आवश्यक भएको बताएकी छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल ( प्याव्सन ) झापाले दमकमा मंगलवार आयोजना गरेको दुई दिवसीय जिल्लास्तरिय सांस्कृतिक कार्यक्रममा बोल्दै उनले शैक्षिक क्षेत्रको विकासमा सरकारको एक्लो प्रयासले मात्र सफलता संभव नभएकाले यसमा सवैको योगदान खाँचो रहेको जोड दिईन् । सरकारले देशको शैक्षिक विकासमा ठुलो लगानी गरिआएको चर्चा गदै उनले भनिन् , –‘सरकारबाट जति प्रयास भएको छ, त्यसले गुणात्मक प्रतिफल दिन सकेको छैन । यसमा सवै पक्ष गंभीर हुनुपर्छ ’ देशको शैक्षिक क्षेत्रमा नीजि क्षेत्रको योगदान उल्लेखीय रहेको उनको भनाई थियो ।
उनले हाम्रो शिक्षा जिवनपयोगी हुन नसकेकै कारण धेरै युवाहरु विदेश पढ्न जाने बढ्नु चिन्ताको विषय भएको उल्लेख गरिन् । दमकमा आफूले अध्ययन गरेको वताउदै उनले यहाँको विकासमा उल्लेखीय काम समेत भएको चर्चा गरिन् ।
उनले आजका नानीबाबुहरु भोलिका कर्णाधार शक्ति भएकाले पनि उनीहरुलाई गुणस्तरिय शिक्षा उपलव्ध गराउन सवै लाग्नुपर्ने बताईन् ।
सो अवसरमा उनले प्याव्सनको क्षेत्रमा महत्वपूर्ण योगदान पुरयाँएवापत शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ्ग थ्रोपा (रोशन ) र प्याव्सन झापाका पूर्व उपाध्यक्ष चन्द्रप्रकाश राईलाई सम्मान प्रदान गरिन् ।
सोमबार र मंगलवार गरि दुई दिनसम्म चल्ने सांस्कृतिक प्रतियोगितामा जिल्लाभित्रका पालिका स्तरमा छनौट भएका १४ वटा विद्यालयले गायन, आधुनिक तथा लोक नृत्यमा प्रतिष्पर्धा गरेका जिल्ला अध्यक्ष गौरीमान फागोले बताए ।