दमक,३ पुस । नेपालमा यस अघि उन्मुलन भइसकेको भनिएको हात्तीपाइले, कुष्ठरोग लगायतका उपेक्षित उष्णप्रदेशीय १० किसिमका रोगहरुको उपचार तथा रिफरल सेन्टरको काम गर्ने उद्धेश्यले दमकमा एकीकृृत उपचार कक्षको उदघाटन गरिएको छ ।
फेयर मेड नामक गैह्सरकारी संस्थाको सहयोगमा दमक अस्पतालमा स्थापना गरिएको सो कक्षको आज औपचारिक रुपमा उदघाटन गरिएको हो ।सरकारले उन्मुलन भएको घोषणा गरिएका छाला सम्बन्धिका ति रोगहरु पूर्वी तराईका झापा, मोरङ र सुनसरीमा पछिल्लो समय बढीरहेको तथ्याङक सार्वजनिक भएपछि विश्व स्वास्थ्य संगठनको समेत ध्यान त्यसतर्फ केन्द्रित भएकाले ति रोगहरुको उपचारमा ध्यान गएको हो । उष्णप्रदेशीय रोगहरुमा कुष्ठरोग,हात्तीपाईले रोगहरु लगायत १० किसिमका पर्छन् ।
दमक नगर प्रमुख रामकुमार थापाले सो कक्षको उदघाटन गर्दै सो सेन्टरबाट दमकबासीले मात्रै नभएर आसपासका अन्य जिल्लाका पालिकाबासीले समेत लाभ लिन सक्ने बताए । उनले दमक अस्पतालको व्यवस्थापन र सेवा सुविधाका बिषयलाई लिएर सामाजिक सञ्जालमा आएका टिका टिप्पणीप्रति आफनो गम्भिर ध्यानाकर्षण भएको जनाउँदै अहिले अस्पतालको सेवा सुविधा चुस्त दुरुस्त र प्रभावकारी बनाउँदै सवल रुपमा व्यवस्थापन गर्ने बिषयमा सिंगो नगरपालिका कटिबद्ध रहेको उल्लेख गरे ।
अस्पतालको नयाँ भवन निर्माणलाई पूर्णता दिएर आवश्यक पर्ने अन्य उपकरण तथा बन्दोबस्तीका सामग्रीहरुको व्यवस्थापन काममा लागेको पनि उनले जनाए ।
कार्यक्रममा दमक नगर उपप्रमुख रेगिना भट्टराई प्रसाइँले रोग लागेपछि उपचार गर्नु आवश्यक भएपनि रोग लाग्नै नदिने उपायहरुको अवलम्बन गरिनु आवश्यक रहेको चर्चा गरिन् ।
कार्यक्रममा फेयर मेडकी राष्ट्रिय संयोजक निर्मला शर्माले दमक नगरपालिकाका अधिकृत नगेन्द्र भट्टराईलाई सो कक्षमा आवश्यक स्वास्थ्य सामग्रीहरु हस्तान्तरण गरिन् । उनले त्यस अवसरमा नगरपालिका र दमक अस्पतालले फेयर मेडसंगको सहकार्यलाई निरन्तरता दिदैं स्वास्थ्य सेवा अझ उपलव्धिमुलक र प्रभावकारी बनाउने विश्वास व्यक्त गरिन् ।
उदघाटन कार्यक्रममा नगर कार्यपालिका सदस्यहरु ख्यामकुमारी परियार, शारदा भट्टराई, दमक १ का वडाध्यक्ष हरी न्यौपाने, वडा नं ७ का वडाध्यक्ष भिम प्रसाद पौडेल, वडा नं ८ का वडाध्यक्ष दिपेश दाहाल, ९ का वडाअध्यक्ष कुबेर भट्टराई ,आम्दा अस्पतालका मेडिकल सुपरिण्टेन्डेन्ड डा. प्रकाश शर्मा, नमस्ते पब्लिक हस्पिटलका मेसु डा. बेदनिधी खतिवडा, निम्स नेशनल हस्पिटलका मेसु डा. नविन सिंह लगायत स्वास्थ्य सरोकारवालाहरु सहभागिता रहेको थियो ।