
दमक,३ पुस । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल १ नं प्रदेशको आज विराटनगरमा चौथो साधारणसभा तथा दोस्रो अधिबेशन सम्पन्न भएको छ ।
प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री विष्णु माया तुम्बाहाम्फेको प्रमुख आतिथ्यतामा भएको साधारणसभा उद्घाटनमा रष्ट्रिय अपाङ्ग महासंघ ( नेपाल संघीय समितिका अध्यक्ष मित्रलाल शर्मा,प्रदेश सरकारका सामाजिक विकास अन्तरगत अपाङ्गता समन्वय समितिका उपाध्यक्ष भिमा खतिवडा, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यसमितिका महासचिव राजु बस्नेत, कोषाध्यक्ष केपी अधिकारी ,संघीय कार्यसमितिका मञ्जु खनाल निर्वतमान संघीय कार्यसमिति सदस्यहरू, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल १ नं प्रदेशका पूर्व पदाधिकारीहरू तथा सदस्यहरू, अपाङ्गताको अभियानमा महासंघका साझेदार सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
सो अवसरमा संस्थाले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल १ नम्बर प्रदेश समितिलाई विभिन्न कालखण्डमा नेतृत्व गर्ने अग्रज तथा पूर्व अध्यक्षहरूलाई सम्मान समेत गरिएको थियो।
कार्यक्रममा नेत्रहीन महासंघ नेपालका महासचिव शिशिर खनाल, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यसमिति अध्यक्ष मित्रलाल शर्मा लगायत अपांगताको क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले समेत शुभकामना मन्तव्य राखेका थिए ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल १ नं. प्रदेशकी अध्यक्ष पर्वता श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभासहित अधिबेशनको सञ्चालन समितिकी सहसचिव राधा चौधरीले र स्वागत मन्तव्य उपाध्यक्ष दिपकला राईले गरेकी थिइन् ।