
दमक ,३ पुस । जिल्लाको कमल गाउँपालिका वडा न . ५ ले वडाका एक दर्जन बढी अगुवा उद्यमी महिलालाई सम्मान गरेको छ । उद्यमशील महिलाहरुको पेशा तथा व्यवसायलाई थप प्रोत्साहन दिने उद्देश्यले वडाका १५ जना अगुवा उद्यमी महिलाहरुलाई सम्मान गरिएको वडाध्यक्ष डम्बरबहादुर निरौलाले बताए ।
पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयमा आज एक कार्यक्रमका गरि वडा कार्यालयले त्यस्ता उद्यमशील महिलाहरुलाई ढाकाको सल र सम्मानपत्रद्धारा सामूहिक रुपमा सम्मान प्रदान गरेको हो ।
यसरी सम्मानित हुने उद्यमी महिलाहरुमा अटो चालक शान्ति माझसिहित टुल्कि ताजपुरिया,बिष्णुमाया धिमाल,सावित्रा बस्नेत,पूर्णकुमारी गौतम,सिता खनाल, नर्वदा महरा, झरना सुब्बा कार्की,कविता चौहान, भूमिका तोङ्गली,मनकुमारी विश्वकर्मा,बालकुमारी लावती,मनमाया धिमाल, कल्पना राई र रुपा धिमाल रहेक छन् । उनीहरुलाई गाउँँपालिकाकी अध्यक्ष मेनुका काफ्ले,उपाध्यक्ष बेणु शिवाकोटी लगायतले हस्तान्तरण गरिन् ।
यसैगरि आजनै वडा भित्र बसोबास गरिआएका ८० बर्ष माथिका १४६ जना ज्येष्ठहरुलाई समेत सम्मान गरिएको वडा सचिव रिता कार्कीले बताईन् ।
त्यस अवसरमा वडाले विपन्न समुदायका लागि आजनै त्यहाँ एक दिने निशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो । दमकस्थित निम्स नेशनल हस्पिटलको प्राविधिक सहयोगमा भएको शिविरमा जेनेरल फिजिसयन,हाडजोर्नी, महिला रोग सम्बन्धीका विशेषज्ञ स्वास्थ्य सेवा उपलव्ध गराईएको थियो । शिविरमा विरामीलाई औषधी तथा ल्याव परीक्षण गरिएको थियो ।