अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसमा र्‍याली

क्याम्पा,३ पुस । अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको अवसरमा आज झापाको कमल गाउँपालिकामा जनचेतनामूलक र्‍याली निकालिएको छ । कमल वडा नं २ क्याम्पास्थित गाउँपालिकाको कार्यालय परिसरदेखि निकालिएको र्‍याली क्याम्पा वजार हुदै पुनः गाउँपालिकामा आएर समापन गरिएको थियो ।
रयालीमा गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, कमल १ का वडाध्यक्ष केदार कटुवाल लगायत सरोकारवाला तथा सर्वसाधारणहरु सहभागी थिए । सहभागीहरुले अन्तराष्ट्रिय आप्रवासी कामदारहरुको हकहित र अधिकार सम्बन्धिका नारा जनचेतनामूलक सन्देश लेखिएका प्लेकार्ड, ब्यानर आदि बोकेका थिए ।
यो दिवस हरेक बर्षको १८ डिसेम्बरमा नेपाल लगायत विश्वभरि विभिन्न कार्यक्रम गरी मनाउने गरिएको छ ।सन् १९९० मा विश्व आप्रवासी कामदार र उनीहरूका परिवारको हक अधिकार संरक्षणका लागि संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको अवसर पारेर यस दिनलाई अन्तर्राष्ट्रिय आप्रवासी दिवसका रूपमा मनाउन थालिएको हो ।
दिवसका अवसरमा नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संघसंस्थाहरुले पालिकास्तरमा र राष्ट्रिय व्यापीरुपमा आप्रवासी श्रमिकहरूको अधिकार सुनिश्चितता सम्बन्धी कानुनको चर्चा र सरकारी निकायको ध्यानाकर्षण गराउँदै यो दिवस मनाउने गरेको कमल गाउँपालिकाको रोजगार शाखा संयोजक भरत तिवारीले बताए ।

Leave a Reply

Your email address will not be published.