दमक,३ पुस । दमक -५ का भुमिहिन दलित, भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई आइतवारबाट धनिपुर्जाको निस्सा वितरण सुरु गरेको छ । स्थानीय जेष्ठ नागरिक सम्मान प्रतिष्ठान नेपालको परिषरमा एक संक्षिप्त कार्यक्रम गरी दमक नगर प्रमुख राम थापा, उप प्रमुख रेगिना भट्टराईसहितले वडा भित्र रहेका भुमिहिनहरुलाई धनिपुर्जाको निस्सा वितरण गरेका हुन् ।
दमक -५ का वडाअध्यक्ष ईन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा भुमिहिनहरुलाई निस्सा वितरण गर्दै नगर प्रमुख थापाले गत मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको आचार संहिताका कारण निस्सा वितरण केहि ढिलो भएको भन्दै अब निरन्तर प्रक्रियामा लगेर चाँडैनै धनिपुर्जा समेत वितरण गर्ने बताए । आफुहरु निर्वाचित भएर आए देखीनै पहिलो प्रथमिकतामा राखेर भुमिहिनलाई धनिपुर्जा उपलब्ध गराउने काममा लागेको उनले बताए।
कार्यक्रममा नगर उपप्रमुख भट्टराईले भुमिहिनको समस्यालाई सदाका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आफुहरु लागि परेको बताईन् । उनले प्राप्त निवेदनका आधारमा छानविन गरेर चाँडै धनिपुर्जा वितरण कार्य समेत सुरु गर्ने प्रतिबद्धता जनाईन् । त्यसवडा भित्रमा हाल सम्म दर्ता भएका २७५ जना भुमिहिनलाई निस्सा वितरण सुरु गरिएको वडा सदस्य ख्यामकुमारी परियार सरुले जानकारी दिईन् ।