ईलाम ,२ पुस। इलाममा विभिन्न घटनामा परेर तीन जनाको मृत्यु भएको छ । जिल्लाको माङ्सेबुङ,चुलाचुली र देउमाई भएको घटनामा तीन जनाको मृत्यु भएको हो ।
इलामको माई नगरपालिका–२ रातेखाडीस्थित खेतमा राखिएको परालको कुन्यूमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार परालको कुन्यूसगैं जलेर देउमाई नगरपालिका–४ मङ्गलबारे निवासी ४३ वर्षिय दिपक भनेर चिनिने तिलबिक्रम शिवाको मृत्यु भएको हो । सोमबारराति ९.४५ बजेतिर माई– २ रातेखाडी बस्ने ठकबहादुर लिम्बूको घरनजिकै रहेको उनकै परालको कुन्युमा अचानक आगलागी भएको थियो ।
आगो निभाउने क्रममा घाइते भएका राईलाई उद्धार गरि उपचारको लागि झापाको भद्रपुरस्थित प्रादेशिक अस्पताल भद्रपुरमा राति १२.३० बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
ट्रकले च्यापेर चालकको मृत्यु
इलाममा बिग्रेको ट्रक बनाउनेक्रममा ट्रकले च्यापिएर चालकको मृत्यु भएको छ ।सोमबारराति १२.५ बजे इलाम माङसेबुङ–३ सल्लेनीस्थित भित्री सडकखण्डमा रबिबाट दमकतर्फ गोलिया बोकेर आउँदै गरेको ना ३ ख ६०३७ नंको ट्रकको पछाडीको दाहिने साइडको चक्काको हेङगर बल्टु भाँच्चिएको थियो । त्यसलाई बनाउने क्रममा गाडी उठाउने जग चिप्लिन गई उक्त ट्रकको बडीले च्यापिई ट्रक चालक पाँचथर हिलिहाङ – ७ भारपा बस्ने ३८ वर्षीय कुमार तामाङको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
दहमा डुबेर युवकको मृत्यु
इलामको चुलाचुलीमा दहमा डुबेर एकजनाको मृत्यु भएको छ ।सोमबार दिउँसो ४ बजे चुलाचुली– ६ कालापानी बस्ने अन्दाजी २२ वर्षीय रविन राई घरबाट घाँस काट्न गएकोमा घर नफर्किएपछि खोजतलास गर्ने क्रममा सोमबार बिहान १० बजे घरबाट अन्दाजी डेढ किलोमिटर दक्षिणपूर्वमा रहेको दहमा मृत अवस्थामा फेला परेका थिए ।
प्रहरीले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।