दमक, १ पुस। झापाको दमक- ७ स्थित पौडेल बङ्शोद्वार केन्द्रिय समितिको भवन परिसरमा निर्मित बराह भगवानको मन्दिर आज बिधिपूर्वक उदघाटन गरिएको छ । स्थानीय जग्गादाता स्वर्गीय गङगा बहादुर पौडेलले प्रदान गरेको साढे तीन कट्ठा र संस्थाद्वारा खरिद गरिएको १० धुर जग्गामा दाता परिवारले करिब साढे १६ लाखको लागतमा बनाइदिएको मन्दिरमा आज बराह मूर्तिको प्राण प्रतिष्ठा गरि अनावरण गरिएको हो । शताब्दी पुरुष पौडेल बङशका जेष्ठ अभिभावक १०१ बर्सिय लक्ष्मी प्रसाद पौडेलको प्रमुख आतिथ्य र दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईको बिशिष्ट आतिथ्यतामा आयोजित उदघाट्न कार्यक्रममा सो वडाका वडाध्यक्ष भिमप्रसाद पौडेलले सो धार्मिक सम्पदाको महत्त्व बारेमा प्रकाश पारेका थिए ।
उनले २०५३ सालदेखि शुरुभएको पौडेल बन्धुहरुको एउटा साझा सपना आज पूरा गर्न पाउँदा गौरव महसुस भएको उल्लेख पनि गरे। पौडेल बङ्शोद्वार केन्द्रिय समितिका अध्यक्ष लोकनाथ पौडेलको सभापतित्वमा भएको सो कार्यक्रम बङ्शोद्वार समितिको आयोजनामा सञ्चालित श्रीमद भागवत बराह महापुराणको पाँचौ दिनमा आज गरिएको महापुराण आयोजक प्रचार प्रसार समितिका मिडिया कोअर्डिनेटर बिष्णु पौडेलले जानकारी दिए।