दमक ,१ पुस । फोहोर व्यवस्थापनको जिम्मा पाएको नेक्स्ट ईरा ईनर्जी प्रालिले दमकमा फोहोर नउठाउँदा चौंक,वजार दुर्गन्धित बन्दै गएको छ । साता दिन यता नेक्स्ट ईरा इनर्जीले दमकमा फोहोर उठाएको छैन् । फोहोर नउठाउँदा सडक आसपासका व्यापारीहरु संगै वजार आउने सर्वसाधारणहरु दुर्गन्ध खेप्न बाँध्य छन् ।
दमक चौंकस्थित श्रेष्ठ पुस्तक पसलका सञ्चालक ज्ञानेन्द्र श्रेष्ठले फोहोर संकलनका लागि सम्बन्धित कम्पन्नीलाई एकवर्षको अग्रिम रकम बुझाएपनि अहिले पसलमा निस्किने फोहोरको व्यवस्थापनमा निकै सकस भोग्नु परेको सुनाउँछन् । फोहोर कसले उठाउने हो, यो विषयमा गंभीर हुनुपर्ने उनको भनाई छ ।
फोहोरमैला व्यवस्थापनको जिम्मेवार कम्पन्नी नेक्स्ट ईरा इनर्जीको गैरजिम्मेवारका कारण फोहोर संकलन कार्य प्रभावित हुनु ठिक नभएको उनले सुनाए ।दमकमा दैनिकजसो १५ देखि २० टन फोहोर उत्पादन हुदैआएको नगरपालिकाको वातावरण शाखाले जनाएको छ । यसको करिब ७५ प्रतिशतमात्र सङ्कलन हुने गरेको छ । यसमा ६६.५२ प्रतिशत जैविक फोहोर रहेको छ ।
यता फोहोर संकलनको जिम्मा पाएको नेक्स्ट ईरा ईनर्जी प्रालि वीचको विगतको सम्झौता कार्यान्वयन नभएका कारण फोहोर संकलन रोकिएको प्रबन्ध निर्देशक विमल खतिवडाले जानकारी दिए । फोहोर व्यवस्थापन गरिदै आएको दमक- ३ स्थित ल्याण्डफिल्डमा फोहोर भरिएपछि संकलन गरिदै आएको फोहोर फ्याक्न समस्या भएको उनले बताए । फोहोर फाल्ने ठाउँ उपलव्ध नगराउदा फोहोर व्यवस्थापन प्रभावित हुन पुगेको उनले बताए ।
उनका अनुसार फोहोर फाल्नका लागि नगरपालिकाले ठाउँ उपलव्ध गराउने भनिएपनि त्यो हुन नसक्दा समस्या भएको हो । दमकमा नौ दिनदेखि फोहोर सडकमा थुप्रिएको छ । दुई दिन अघि दमकमा विदेशी अधिकारीहरु आएको बेला सडकमा थुप्रिएको फोहोर देख्ला भनेर नगरपालिकाको आग्रहमा एक दिन फोहोर उठाइएको उनले बताए । तर, जहाँ थुपारिएको ठाँउमा त्यसपछि वनले रोक लगाएपछि नियमित संकलन कार्य प्रभावित हुन पुगेको उनको भनाई छ । फोहोर जस्तो संवेदनशील विषयमा हामी गंभीर भएपनि ल्याण्डफिल्डको उचित वन्दोवस्ती गराउन नगरपालिकाले चासो नदिदाँ फोहोरको समस्या लम्बिन सक्ने उनले बताएका छन् ।