चुलाचुली,१ पुस । इलामको चुलाचुली गाउँपालिका वडा न. ३ मा रहेको शिवओरक मिलन पोखरीको पर्यटन बिकासका लागि यहि पुस ५ गते चासोक तङनाम साँस्कृतिक कार्यक्रम -२०८२ आयोजना गरिँदैछ ।
किराँतहरुको साँस्कृतिक पर्व चासोक तङनामको अवसर पारेर पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्दै आन्तरिक पर्यटनको बिकासका लागि साँस्कृतिक कार्यक्रमसहित चासोक मनाउन लागिएको हो ।चासोक तङनाम आयोजक समितिले सोमबार पत्रकार सम्मेलन गरि चासोक कार्यक्रमको तयारीका बारेमा जानकारी दिएका थिए ।
आयोजक समितिका अध्यक्ष टेकबहादुर नुगो (ओजाहाङ)ले सो साँस्कृतिक कार्यक्रमका माध्यमबाट त्यस क्षेत्रको पर्यटन बिकासमा मद्धत पुग्ने विश्वास लिइएको बताए । सो क्षेत्रमा पहिलोपटक चासोक मनाउन लागिएको हो ।
अध्यक्ष नुगोका अनुसार चासोक कार्यक्रम अन्तर्गत विहान न्वागी पूजा गर्नुका साथैं लिम्बूका मनोरञ्जनात्मक पूराना खेलहरु छेलो हान्ने, डोरी तान्ने खेलसहित केलाङ नृत्यको विशेष प्रस्तुति रहने छ ।
झापा मोरङ र इलामका करिब ३ हजार भन्दा बढी मानिसहरुले सो साँस्कृतिक कार्यक्रम र त्यहाँको प्राकृतिक सौन्दर्यतालाई नियाल्ने विश्वास गरिएको उनले बताए ।
कार्यक्रममा कलाकारहरु सुनिता थेगिम लिम्बु, बबिना किराँती लगायत आधा दर्जन बढी चर्चित कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजक समितिका पुष्पराज आङदेम्बेले जानकारी दिए ।
स्थानीय मणिकुमार केरुङ, सञ्जय लिम्बूले शिवओरक पर्यटकीय क्षेत्रको बिकासमा स्थानीय सरकारले चासो र महत्व राखेर आगामी दिनमा यसको बृहत्तर बिकासका लागि योजना अघि बढाउनु पर्ने औल्याए ।
सोही दिन गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, आयोजक समितिको टिम र सञ्चारकर्मीहरुको समूहले कार्यक्रमस्थल शिवओरक पर्यटकीय क्षेत्रको स्थलगत अवलोकन समेत गरेको छ । कार्यक्रमलाई भव्य र उपलव्धिमूलक बनाउन स्थानीय सरकारका तर्फबाट गरिनुपर्ने सहयोगमा कमि आउन नदिने अध्यक्ष केरुङले प्रतिबद्धता जनाएका छन् ।