दमक,१ पुस । मोटरसाइकल दुर्घटनामा परी झापामा एक पुरुषसहित तीन जनाको मृत्यु भएको छ । दमक र शिवसताक्षीमा भएका अलग अलग दुर्घटनामा परेर तीन जनाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार दमक १० सेतुमारी चोक नजिकै भित्री सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परेर दुई महिलाको मृत्यु भएको हो ।
सेतुमारी चोकबाट बालुबथान तर्फ जादैं गरेको प्रदेश नम्बर १–०१–०१५ प १७९३ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाईकलमा सवार झापा गौरादह -५ की ३२ बर्षिया जमुना धिमाल र सोही ठाउँकी २५ बर्षिया मनचरी भनिने ओम कुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
राती करिब १० बजे भएको सो मोटरसाईकल दुर्घटनामा परेर मोरङ, जिल्ला रतुवामाई नगरपालिका वडा नम्बर ८ का २७ बर्षिय बिराज थापा घाईते भएको र घाइते तीनै जनालाई उपचारका लागि दमक अस्पताल दमक पठाइएको थियोे ।
घाईते मध्ये ती दुई महिलाको उपचारको क्रममा राती साढे ११ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिए ।चालक थापालाई थप उपचारका लागि रातिनै बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएको छ भने घटनाको समन्ब्धमा आवश्यक अनुसन्धान भई रहेको प्रबक्ता चन्दले बताए ।
यसैगरि, पूर्वपश्चिम राजमार्गअन्तर्गत शिवसताक्षीमा सडक निर्माणका लागि बनाइएको डाइभर्सनमा दुर्घटना हुँदा मोटरसाइकल चालक मेचीनगर नगरपालिका वडा नम्बर–५ बस्ने ४२ वर्षीय सन्तोषकुमार लिम्बूको मृत्यु भएको छ । आइतबार साँझ अन्दाजी ७ बजेको समयमा शिवसताक्षी नगरपालिका वडा नम्बर–१० किरात चौकस्थित पूर्वपश्चिम राजमार्गमा को २ त ४१४५ नम्बरको ट्याक्टर रोकिराखेको अवस्थामा सोही पूर्व दिशातर्फ आउँदै गरेको मे ९ प ६२४ नम्बरको मोटरसाइकल ट्याक्टरको पछाडिको भागमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा सोही मोटरसाइकलमा पछाडि सवार दमक –५ बस्ने ३५ वर्षीया अनिता राई घाइते भएकी छन् ।
घाइते दुबैलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा साँझ ७ः२० बजे मोटरसाइकल चालक लिम्बूको उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले जानकारी दिए । सो ट्याक्टर एसियन हाइवे निर्माणका लागि ल्याइएको कालिका कन्स्ट्रक्सनको भएको र ट्याक्टर चालक तत्काल फरार रहेकाले खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।