
काठमाडौँ, १ पुस । नेपाली काँग्रेसको महामन्त्रीमा युवा नेताद्धय गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन्। केन्द्रीय निर्वाचन समितिले १४ औँ महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतपरिणाम सार्वजनिक गरि महामन्त्रीमा थापा र शर्मा विजयी भएको जनाएको हो । काँग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार नेपाली काँग्रेसको विधान अनुसार थापा र शर्मा महामन्त्री पदमा निर्वाचित भएका छन् ।
घिमिरेका अनुसार गगन थापा तीन हजार २३ मत र विश्वप्रकाश शर्मा १९ सय ८४ मत ल्याएर विजयी भएको हो । महामन्त्रीका ६ प्रतिस्पर्धीमध्ये प्रकाशशरण महतले १५ सय ५६, प्रदीप पौडेलले १३ सय ९३ मत प्राप्त गरे भने मिनेन्द्र रिजालले ८०९ मत प्राप्त गरेका छन् । महामन्त्रीका अर्का उम्मेदवार राजाराम कार्कीले भने १०६ मत मात्र प्राप्त गरेका छन् ।
खसेको कुल ४६ सय ८२ मतमध्ये ४३ मत बदर भएको छ । काँग्रेस सभापतिमा शेरबहादुर देउवा यसअघि नै विजयी भएका छन् । उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।
निर्वाचन समिति संयोजक घिमिरका अनुसार सहमहामन्त्रीको मतगणना बिहीबार साँझबाट सुरु हुनेछ । सहमहामन्त्रीको मतगणना सम्पन्न भएपछि केन्द्रीय सदस्यको मतगणना सुरु हुनेछ ।