
मोरङ ,२९ मंसिर । मोरङको केराबारी गाउँपालिकामा जङ्गली हात्तीले आक्रमण गर्दा तीनजना घाइते भएका छन् । केराबारी गाउँपालिका– ९ देविझोडाका वडा सदस्य नरबहादुर मगरका अनुसार जंगली हात्तीको आक्रमणमा परेर मंगलबार राति स्थानीय ५ महिने बालकसहित तीन जना घाइते भएका छन् ।
हात्तीको आक्रमणबाट स्थानीय सुरेन राईकी श्रीमती २२ वर्षिया अस्मिता र ५ महिने छोरा क्यालबिन राई तथा १७ वर्षिया प्रतिमा लिम्बू घाइते भएको मगरले बताए ।
उनका अनुसार घाइतेमध्ये प्रतिमाको अवस्था गम्भीर रहेको छ । उनको बुढीगङ्गा गाउँपालिकास्थित विराट शिक्षण अस्पतालको आईसीयू राखी उपचार भइरहेको छ । घाइतेद्वय अस्मिता र क्यालबिनको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । अस्मिताको देब्रे खुट्टा र करङमा चोट लागेको चिकित्सकले जानकारी दिएका छन् ।
वडा सदस्य मगरले दुई वटाको संख्यामा आएका हात्तीले गाउँमा क्षति पुरयाँएको बताए । स्थानीय र प्रहरीले हात्ती धपाइसकेका छन् । गाउँमा ५ घण्टासम्म उपद्रो मच्चाएको हात्ती स्थानीय र प्रहरीले लखेटेपछि पश्चिमतर्फको जङ्गलमा लागेको बताइएको छ ।