
काठमाडौं,२९ मंसिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीको १४औँ महाधिवेशनबाट सभापति पदमा पुनः निर्वाचित भएका छन् । सभापतिका लागि मङ्गलबार भएको पुनः मतदानबाट उनी निर्वाचित भए। पार्टीमा देउवाको दोस्रो कार्यकाल हो ।
सभापति देउवा प्रतिस्पर्धी डा. शेखर कोइरालालाई ८७८ मतान्तरले पाराजित गर्दै विजयी भए। मङ्गलबार राति सम्पन्न मतगणनामा जम्मा खसेको मत ४ हजार ६२३ मा देउवाले २ हजार ७३३ मत प्राप्त गरेका थिए भने डा. कोइरालाले १ हजार ८५५ मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । जम्मा ३५ मत बदर भएको थियो ।
दिउँसो ३ः३० बजेदेखि सुरु भएको मतदान राति ९ बजे सम्पन्न भएको थियो । मतदानमा कुल चार हजार ७४३ मतदातामध्ये चार हजार ५७४ ले मतदान गरेका थिए । सोमबार भएको निर्वाचनमा सभापति पदका पाँच जना प्रत्यासी कसैले पनि ५० प्रतिशत भन्दा बढी मत ल्याउन नसकेपछि पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने प्रधानमन्त्री एवं वर्तमान पार्टी सभापति देउवा र नेता डा. कोइरालाबीच मङ्गलबार पुनः मतदान भएको हो ।
सोमबार भएको मतदानमा प्रधानमन्त्री एवं वर्तमान सभापति देउवाले दुई हजार २५८ र उनका निकटतम प्रतिद्वन्द्वी डा. कोइरालाले एक हजार ७०२ मत प्राप्त गरेका थिए । सभापतिका अन्य प्रत्यासी पूर्व महामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २५०, र केन्द्रीय सदस्य कल्याण गुरूङले २२ मत प्राप्त गरेका थिए ।
कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । पहिलो पटक कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गर्ने विधानको व्यवस्था छ । पुनः मतदान हुँदा बढीमत प्राप्त गर्ने उम्मेदवार विजयी हुने व्यवस्था छ ।पार्टी विधानअनुसार सबैभन्दा बढी मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा भएको थियो । पहिलो चरणको प्रतिस्पर्धामा विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ पनि सहभागि थिए । उनीहरु कम मत ल्याएर बाहिरिएपछि देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो । दुईबीचको प्रतिस्पर्धामा बाहिरिएका तीनै जना उम्मेदवारले देउवालाई सघाएका थिए ।
पुस ५ भित्र सबै परिणाम आइसक्ने
कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान गरिएको थियो। सभापतिबाहेक अन्य पदाधिकारी र सदस्यहरुको मत गन्न बाँकी छ। कांग्रेसमा पहिले पार्टी सभापतिको छिनाफोना भएपछि मात्र अन्य पदाधिकारीतर्फ मत गन्ने चलन छ। तिनका मत गन्न आज सुरु गरिने पुस ५ भित्र सबै परिणाम आइसक्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ। कांग्रेसको १४औं महाधिवेशन गत २४ गते भृकुटीमण्डपमा उद्घाटन गरिएको थियो।