श्रीमती हत्या गरेको आरोपमा श्रीमान पक्राउ

संखुवासभा, २८ मंसीर । श्रीमतीको हत्या गरेको आरोपमा संखुवासभाको मादीका प्रेम दोर्ची शेर्पा पक्राउ परेका छन्। शेर्पाले नै आफ्नी श्रीमती बेपत्ता भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।
मंसिर ९ गते राति साढे १० बजेतिर ओखरबोट बजारबाट घर फर्किने क्रममा श्रीमती मिना शेर्पा बाटोमै बेपत्ता भएको भन्दै उनले प्रहरीमा उजुरी दिएका थिए । तर, अनुसन्धानका क्रममा मिनाको हत्या भएको खुलेको छ ।
प्रहरीका अनुसार सोही राति घर फर्किने क्रममा विवाद भएपछि कुटपिट गरी श्रीमतीको हत्या गरिएको पाइएको छ । शव त्रिपालले बेरेर खाल्डो खनी गाडिएको स्वीकार प्रेम दोर्चीले गरेका छन्।
संखुवासभा प्रहरीका सूचना अधिकारी धनबहादुर राजवंशीका अनुसार हत्या गरेर गाडिएको अवस्थामा शव उत्खनन गरिएको छ । घटनाको १९ दिनपछि पक्राउ परेका प्रेम दोर्चीविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभाबाट प्रहरी निरीक्षक पर्शुराम राईको कमाण्डमा अनुसन्धान टोली खटिएर शव निकालिएको थियो। प्रहरीले शव सडिसकेको अवस्थामा फेला पारेको थियो।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गर्न प्रेम दोर्चीमाथि कर्तव्य ज्यान कसुरमा जिल्ला अदालतबाट म्याद थप गरेको छ ।

आगलागीमा परी बृद्धको मृत्यु

संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा आगलागीमा परी एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार चैनपुर–४ का ८८ वर्षीय दिलबहादुर लिम्बूको मृत्यु भएको हो ।
ग्यास चुहिएर घरमा आगलागी हुँदा आइतबार बिहान उनको मृत्यु भएको हो । आगलागीमा घरका साथै त्यहाँ रहेका नगद र जिन्सी गरी १० लाख रुपैयाँ बराबराको क्षति भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.