झापाले पायो ३२ जना सांसद

झापा, २८ मंसिर । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट झापाले ३२ जना सांसद पाएको छ । प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका १० वटा निर्वाचन क्षेत्र रहेको झापाबाट दुई वटै तहमा प्रत्यक्ष र समानुपातिक गरी ३२ जना सांसद निर्वाचित भएका हुन् ।
विभिन्न राजनितिक दलबाट प्रत्यक्ष तर्फ १५ जना र समानुपातिक तर्फ १७ जना सांसद चयन भएका छन् । समानुपातिकबाट प्रतिनिधिसभामा सात र प्रदेशसभामा १० जना सांसद निर्वाचित भएका हुन् । झापाबाट नेपाली कांग्रेसले प्रतिनिधिसभामा सरिता प्रसाईलाई सांसद बनाएको छ भने नेकपा एमालेले कालुराम राई, सुनीता बराल, हर्कमाया विश्वकर्मा र अमृत राजवंशीलाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित गराएको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले झापाबाट इन्दिरा रानामगर र निशा डाँगी गरी दुई जनालाई प्रतिनिधिसभा सदस्यमा चयन गरेको छ ।
त्यसैगरी प्रदेशसभातर्फ समानुपातिकमा झापाबाट एमालेले कमला थापा मगर, तारादेवी ढकाल र नम्बरलाल धिमाललाई सांसद बनाएको छ भने काँग्रेसले उद्धव थापा, मोहन महर्जन र लखिकुमारी गणेश समानुपातिक सांसद बनाएको हो ।
झापाबाट माओवादी केन्द्रले बन्दना झाँगडलाई प्रदेश सांसद बनाएको छ । प्रदेश -१ मा राप्रपाले झापाका निमसरी राजवंशी, अम्बरबहादुर विष्ट र गोपालबहादुर विश्वकर्मालाई समानुपातिक सांसदका रुपमा चयन गरेको छ ।
यसअघि झापाका पाँच प्रतिनिधिसभामा एमालेका ३ तथा काँग्रेस र राप्रपाका एक एक जना सांसद प्रत्यक्ष निर्वाचित भएका छन् । झापा १ बाट कांग्रेसका विश्वप्रकाश शर्मा, २ बाट एमालेका देवराज घिमिरे , क्षेत्र नम्बर ३ बाट राप्रपाका राजेन्द्र लिङ्देन, झापा ४ बाट एमालेका एलपी साँवा र झापा ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
यसैगरि,प्रदेशसभातर्फ झापा १ (१ ) मा कांग्रेसका गोपाल तामाङ, झापा १ (२ ) मा राप्रपाकी सविना बजगाईं ,झापा २ (१) मा एमालेका एकराज कार्की, २ (२) मा तिलचन पाठक , झापा ३(१ ) मा कांग्रेसका भूमिप्रसाद राजवंशी, ३(२ ) मा एमालेका छविलाल चुडाँल,झापा ४(१ ) मा एमालेका राधाकृष्ण खनाल, ४(२ ) मा राप्रपाका भक्तिप्रसाद सिटौला ,झापा ५(१) बाट हिक्मतकुमार कार्की र ५(२) बाट होमबहादुर थापा निर्वाचित भएका छन् ।

Leave a Reply

Your email address will not be published.