होमियोप्याथी उपचार पद्धतिको प्रभावकारिता

 
सरकारका हरेक अस्पतालमा विस्तार गर्न सके एलोप्याथिकबाट उपचार हुन नसकेको या ठीक हुन नसकेका धेरै विरामीलाई एकै ठाउँबाट सेवा दिएर उपचारमा फड्को मार्न सकिन्छ । युरोपका धेरै देशमा आज पनि सुरुमा होमियोप्याथिक उपचार पद्धति अपनाइन्छ र मात्र अन्य सेवा दिने सरकारको नीति रहेको छ ।

..................................................................................

विश्व स्वास्थ संगठनले दोस्रो ठूलो उपचार पद्धतिको मान्यता दिएको होमियोप्याथिक सरल, सहज उपलव्ध हुनसक्ने, कम खर्चिलो, औषधीको कुप्रभाव(साइड इफेकट) धरै नभएको, सेवन गर्न सहज र विना कुनै चिरफार असाध्य भनिएका रोगको पनि सहजै उपचार हुनसक्ने उपचार पद्धति हो । यो पद्धतिका जन्मदाता डा.सेम्युअल हेनिमैन हुन् । उनको जन्म जयन्तीको दिन हो दश अप्रिल अर्थात चैत्र २८ गते । विश्वमा नै कम आर्थिक अवस्था भएका मानिसको वरदान सावित भएको र असाध्य भनिएका रोगहरुको पनि सहजै उपचार हुनसक्ने आधुनिक चिकित्सा विज्ञानका रुपमा परिचित यो चिकित्सा प्रणाली आजको जटिल र विभिन्न खाले नयाँ रोगसँग लडन सक्ने बलियो आधार पनि हो ।

आजभन्दा २२५ वर्ष अघि जर्मनीबाट सरु भएको यो चिकित्सा पद्धति विश्वका सबै देशमा भित्रिसकेको छ । छिमेकी देश भारतमा विश्वमै सबै भन्दा धेरै अपनाइएको यो चिकित्सा विज्ञानको अध्यायन गर्न १३५ भन्दा धेरै मेडिकल कलेज स्थापित छन भने करिव ५० हजारको संख्यामा त होमियोप्याथीक चिकित्सक सरकारी सेवामा आवद्ध छन् । लगभग ३ लाखको संख्यामा निजी क्लिनिक र अस्पताल संचालनमा छन् । देशको कुल जनसंख्याको ३५ प्रतिशत यो चिकित्सा विज्ञानमा निर्भर छ । अझ कमजोर आर्थिक अवस्था र जटिल प्रकारका रोगीहरुका लागि त वरदान नै सावित भएको छ । भारत सरकारले यो विज्ञानको विकास विस्तारका लागि हरेक तरिका अपनाएर गाउँ गाउँसम्म अस्पताल र क्लिनिक सञ्चालनमा ल्याएको छ । त्यहाँ आयुस नामको सरकारी आधिकार सम्पन्न संस्था अथवा मन्त्रालय स्थापना गरेको छ । होमियोप्याथिकको छुट्टै काउन्सील रहेको छ । जसले यो उपचार पद्धतिको विकास विस्तारमा अग्रणी भूमिका खेलेको छ । त्यहाँका गाउँ गाउँमा कुनै अर्को उपचार पद्धति छैन भने पनि होमियोप्याथिक आनिवार्य देख्न पाइन्छ र सहजै उपचार पनि लिन सकिन्छ ।

जर्मनीमा एकताका डाक्टर सेमुयल क्रिस्चियन फेड्रिक हेनिमेन विख्यात एलोप्थाथिक चिकित्सक थिए । उनको ज्ञान र रोगी प्रतिको सर्मपण उच्च थियो । उनी रोगीलाई रोगमुक्त गराउन चाहन्थे तर पटक पटक एउटै रोग दोहोरिएको भन्दै विरामी आएको देखेर उनी एलोप्प्याथिक चिकित्सा पद्धतिबाट निरास हुन थाले र केहि समयपछि उनले चिकित्सा छाडेर गहन अध्ययनमा लागे । उनी १० भाषाका ज्ञाता थिए । एक दिन उनी पुस्तकालयमा वसेर कुलैन नामको मटेरिया मेडिकाको अध्ययन र उक्त पुस्तकको भाषानुवाद गर्दै थिए । उनले सिन्कोना वार्क नामको रुखको बोक्रोको रस बनाएर पिएमा औलो ज्वरोको जस्तै काम ज्वरो आउने र त्यही रसको सुक्ष्म मात्रामा शक्तिकृत गरेर पुनः उही मानिसलाई सेवन गराएमा ज्वरो हराउछ भन्ने हरफ भेटे । उनले तुरुन्तै त्यो कुरालाई प्रमाणित गर्न उक्त बोक्राको रस बनाएर सेवन गरे । केहि समयपछि नै उनले पुस्तकमा उल्लेख गरे अनुसारको ज्वरो र जाडो महशुष गेर । ज्वरो आएको लगभग एक घण्टापछि उनले पुनः उक्त रसको सुक्ष्म मात्रामा शक्तिकृत गरेर पिए । उनको ज्वरो गायव भयो । उनले आफन्त र साथीहरुमा पनि परिक्षण गरे । रिजल्ट उस्तै आयो ।

त्यसपछि उनले औलो ज्वरो पिडित माथी प्रयोग गरे । वर्षौ देखिको औलो ज्वरो जाती हुन थाल्यो । यसरी नै उनले अन्य विषैला या कडा प्रकृति भएका विरुवाको रस र धातुको सुक्ष्म प्रयोग आफैमा र स्वस्थ मानिसमा परिक्षण गर्न थाले । सफलता हात पर्न थालेपछि उनले रोगीमा पनि लक्षण अनुसार प्रयोग गर्दा रोगी निको हुन थाले । यसरी सन् १७९५मा होमियोप्याथी अथवा समानले समानको उपचार सम्भव छ भन्ने सिद्धान्त अघिसारेर एउटा नयाँ चिकित्सा विज्ञानको प्रर्दुभाव गरे । जसको उपयोगले असाध्य भनिएका अनेकन रोगको र रोगीको उपचार सम्भव भएको छ ।

होमियोप्याथिक सिद्धान्त अनुसार रोग शरीरमा त्यतिबेला प्रवेश गर्छ जतिबेला उसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ या घटेर जान्छ । उदाहरणका लागि एकै समयमा दुई या तिन जना मानिस पानीमा भिजे । दुई जनालाई ज्वरो आयो, एकजनालाई केहि भएन् । कारण उसको शरीरमा त्यो रोगसँग लडने प्रतिरोधात्मक क्षमता उच्च थियो । अरु दुइमा कमजोर थियो । त्यसैले होमियोप्याथिक सिद्धान्तले रोगी व्याक्तिको रोग प्रतिरोधात्मक क्षमता वढाउने र शरीरमा रहेको रोगलाई दबाउने हैन् जरैबाट निकालेर प्mयाक्ने काम गर्छ । जस्तो रोगका लक्षण उस्तै रोगका कृत्रिम लक्षण उत्पन्न गर्ने क्षमता भएका औषधीको सेवन गराएर रोगी व्याक्तिमा भएको रोगलाई समानले समानलाई नास गर्छ भन्ने सिद्धान्तका आधारमा निको पार्ने यो चिकित्सा विज्ञानको सफलता विश्वमा फैलिएको हो ।

हरेक वर्ष १० अप्रिल(चैत्र २८गते) तिनै महान व्याक्ति(हेनीमेन)को जन्म दिवस हो । यो दिनलाई विश्वमा रहेका होमियोप्याथीक चिकित्सक, होमियो प्रेमी र सरकारले भब्यताका साँथ विश्व होमियाप्याथिक दिवसका रुपमा मनाउने गरेको छ । नेपालमा पनि विभिन्न स्थानमा निजी क्लिनिक संचालन गरेर सेवा दिदै आएका चिकित्सक, पशुपति होमियोप्याथिक अस्पताल, होमीयो फामेर्सी संचालक र होमियोप्रमीहरुको संगठनले एकै ठाउँमा भेला भएर विश्व होमियोप्याथी दिवस मनाइने गरिन्छ ।

नेपालमा धेरै जडीवुुट्टी उत्पादन हुने र होमियोप्याथिक औषधी पनि मुख्य गरेर विभिन्न जडीबुट्टीबाट बनाइने हुँदा यो उपचार पद्धति धेरै उपयोगी रहने छ । नेपाल त्यसैपनि गरीब नागरिक बस्ने देश, उपचार आज पनि हरेक ठाउँमा पुग्न सकेको छैन् । यो अवस्थामा होमियोप्याथिक सहजै र सरल रुपमा देशका कुना काप्चामा सेवा दिन सकिन्छ । मात्र यसको लागि देशमै जनशक्ति उत्पादन गर्ने मेडिकल कलेज र औषधी उत्पादन गर्न सुरु गर्नुपर्ने आवश्यकता छ । यो विधालाई सरकारका हरेक अस्पतालमा विस्तार गर्न सके एलोप्याथिकबाट उपचार हुन नसकेको या ठीक हुन नसकेका धेरै विरामीलाई एकै ठाउँबाट सेवा दिएर उपचारमा फड्को मार्न सकिन्छ । युरोपका धेरै देशमा आज पनि सुरुमा होमियोप्याथिक उपचार पद्धति अपनाइन्छ र मात्र अन्य सेवा दिने सरकारको नीति रहेको छ ।

अन्त्यमा नेपाल जस्तो अति कम विकसित देशमा रहेका लाखौ निमुखा नागरिकले सहज रुपमा होमियोप्याथिक उपचार प्राप्त गर्न सकुन भन्ने उद्देश्यले नयाँ सबिधानले तोकेको आधारमा होमियोप्याथिक उपचार पद्धति घरघरमा पुगोस । हरेक नेपालीले आफुले चाहेको पद्धतिबाट उपचार प्राप्त गर्न सकुन् र नेपाल सरकारले यसतर्फ ध्यान देओस अनि होमियोप्याथीक चिकित्सकले पनि सरकारी स्तरमा सेवा गर्न पाउने वातावरण बनोस, उच्च शिक्षा तथा तालिम गोष्ठीमा भाग लिन जाने अवसर प्राप्त होस भन्ने चाहना र आजको आवश्यकता रहेको कुरा यसै लेख मार्फत पनि राख्न चाहन्छु । लेखक होमियोप्याथीक चिकित्सक हुन् ।

Leave a Reply

Your email address will not be published.