महासंघ अध्यक्ष चौधरीमाथि पाँच दिनको म्याद थप

झापा, मंसिर २६ । मुख्यमन्त्री केदार कार्कीको गाडीमा तोडफोड गरेको आरोपमा मंगलवार राति पक्राउ परेका नेपाल आदिवासी जनजाति महासंघ झापाका अध्यक्ष पाण्डवलाल चौधरीलाई पाँच दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक खगेन्द्रप्रसाद रिजालका अनुसार पक्राउ परेका चौधरीलाई पाँच दिनको म्याद थप गरी अभद्र मुद्धामा अनुसन्धान बढाइएको हो । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति झापाका संयोजकसमेत रहेका चौधरीलाई अर्जुनधारा ८ स्थित घरबाटै मंगलवार राति प्रहरीले पक्राउ गरेको हो । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमाथि मंगलवार दिउँसो दमकमा पहिचान पक्षधरहरुको समूहले ढुंगा प्रहार गरेको थियो ।

कालो झन्डा देखाउने र तोडफोडमा चौधरीको संलग्नता देखिएकाले पक्राउ गरिएको डीएसपी रिजालले बताए ।  नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका उनलाई  इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । लागूऔषध नियन्त्रणसम्बन्धी एउटा कार्यक्रममा सहभागी बन्न दमक आइपुगेका बेला कोशी नामकरणविरुद्ध असन्तुष्ट समूहले कार्की चढेको गाडीमाथि ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ ।

रिहा गर्न माग
प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समिति झापाले हिजो निमित्त प्रमुख जिल्ला अधिकारी विश्वनाथ नेपाललाई ज्ञापनपत्र बुझाउँदै पक्राउ परेका चौधरीलाई बिनाशर्त रिहाई गर्न माग गरेको छ ।
समितिका सहसंयोजक राजा आङथुपो लिम्बूको नेतृत्वमा गएको पहिचानवादीहरुको टोलीले ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा २४ घण्टाभित्र बिनाशर्त रिहाई नगरे आन्दोलनलाई चरणवद्ध रुपमा सशक्त अघि बढाउने चेतावनी दिइएको छ ।
मंगलवार दिउँसो दमकमा पहिचान पक्षधरहरुको समूहले ढुंगा प्रहार गरेको घटनालाई लिएर चौधरीसहित निशान राई, बिजय थापा र शंकर खत्रीलाई प्रहरीले पक्राउ गरेको थियो ।
पहिचान पक्षधर सबै अभियन्ताको शीघ्र रिहाइ नभए देशब्यापी आन्दोलन गर्ने ती संस्थाहरुले चेतावनी दिएका छन् ।

पहिचान पक्षधर जातिय संघसंस्थाहरुद्धारा जारी विज्ञप्तिमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे लामा शेर्पा, नेपाल मगर संघका अध्यक्ष ज्ञानेन्द्र पुनमगर, नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोले तामाङ, नेवा देय दबूका सचिव मचाराजा महर्जन, किरात राई यायोक्खाका अध्यक्ष जीवन हताचो राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन, तमू ह्यूल छोंज धिंका उपाध्यक्ष आरबी तमू, सुनुवार सेवा समाजका अध्यक्ष अमृत सुनुवार, नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पा, कुमाल समाज नेपालका उपाध्यक्ष श्रुती कुमाल र भुजेल सेवा समाजका कार्यवाहक अध्यक्ष हिलारीबन्धु भुजेलले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published.