दमक,२७ मंसिर । बेलायतमा रहेको मगर महिला कम्युनिटीको वेम्बली शाखाले दमक र कमलका दुई जना विपन्न तथा जेहेन्दार मगर छात्रालाई छात्रवृति वापत शैक्षिक सहयोग गरेको छ ।
शाखाले दमक ९ इटाभट्टास्थित सरस्वती माविमा अध्ययनरत रिता आलेमगर र कमल १ सरङपाडास्थित नरेन्द्र माविमा अध्ययनरत भिमा थापामगरलाई उच्च शिक्षा अध्ययनमा सहयोगका लागि जनही २५ हजार रुपैयाँ बराबरको शैक्षिक सहयोग प्रदान गरेको हो ।
सामाजिक सञ्जाल मार्फत दमकका सामाजिक अभियान्ता काजी राउतमार्फत सो कम्युनिटीको वेम्बली शाखाले सो रकम पठाएको हो । प्राप्त सहयोग रकम दाता संस्थाको आग्रह अनुरुप एक बर्षको बार्षिक शुल्क , बिद्यालय पोशाक र शैक्षिक सामग्रीका लागि ति दुवै बिद्यालयमा पुगेर हस्तान्तरण गरिएको छ ।
सामाजिक सञ्जालमार्फत राउतले सो शाखामा ति छात्राहरुको शैक्षिक निरन्तरताका लागि सहयोग आवश्यक रहेको जानकारी गराएपछि संस्थागत रुपमा सो सहयोग रकम पठाइएको मगर महिला कम्युनिटीको वेम्बली शाखाकी मन सुनुवारले बताईन् । ति छात्राहरुले आगामी दिनमा अध्ययनलाई अनुशासनपूर्वक अघि बढाएको खण्डमा आगामी बर्ष पनि सो सहयोगलाई निरन्तरता दिइने दाता संस्थाले जनाएको छ ।