
दुधे ,२३ मंसिर । झापाको शिवसताक्षीमा किरात लिम्बु समुदायले यसवर्ष पनि सामूहिक रुपमा चासोक तङ्नाम (उद्यौली ) धुमधामका साथ मनाइने भएको छ ।
लिम्बू समुदायको प्रतिनिधिमूलक संस्था किरात याक्थुङ चुम्लुङले विगत बर्षहरु मनाउदै आएको चासोक तङ्नाम यसवर्ष पनि आगामी पुस ४ गते शिवसताक्षी–११ स्थित दुधे रंगशालामा धुमधामका साथ मनाइने तयारी गरेको हो ।
चुम्लुङ्ग शिवसताक्षीका अध्यक्ष विरबल जबेगुले सांस्कृतिक पर्वका रुपमा मनाउदै आएको चासोकलाई राष्ट्रिय पर्वको रुपमा स्थापित गराउन जोड दिदै विगत तीन वर्षदेखि यसपर्वलाई निरन्तरता दिएको बताए ।
त्यस अवसरमा लिम्बु जातिका मौलिक तथा साँस्कृतिक च्याब्रङ नाचसहित लोपन्मुख धान नाच, छेलो र धनुषवाच प्रतियोगिता समेत गरिने उनले जानकारी दिए । त्यस्तै, कार्यक्रममा ख्यातिप्राप्त गायिका मेलिना राईको विशेष प्रस्तुति रहनेछ ।
चुम्लुङ्ग शिवसताक्षीका सचिव प्रेम शेर्माका अनुसार चासोक तङ्नाम हरेक वर्षको मंसिर पूर्णिमामा मनाइने यस पर्वको विशेष कार्यक्रमको तयारी तीव्र रुपमा भईरहेको छ । चासोक कार्यक्रम सम्पन्न गर्न अनुमानित रु १० लाख खर्च हुने उनले जानकारी गराए । कार्यक्रम सम्पन्न गर्न स्वदेश तथा विदेशमा बस्दैआएका सहयोगी मन भएका व्यक्तिहरुबाट सहयोग प्राप्त हुने अपेक्षा गरिएको उनले बताए ।
संस्थाले चासोक वृहत रुपमा मनाउन विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । जसअन्तर्गत संयोजकहरु आर्थिक समितिमा सूर्य योङ्या , कलाकार तथा प्रचार प्रसार समितिमा सन्तोष थोप्रा, केलाङ विभागमा डिल्ली फोम्बु, संयमसेवक विभागमा अभिषेक केदेम, महिला व्यवस्थापन विभागमा पार्वता सेलिङ, प्रसाद वितरण विभागमा कमला आङ्देम्बे र शोभा लिम्बु, मञ्च सजिसजावटमा अमर लिम्बु, स्टल र लाइटिङमा सोमिल राई लगायत १९ वटा उपसमिति रहेका छन् ।