दमक,२४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि थप केही गर्ने बताएका छन् । दमक नगरपालिका– ३, स्थित बेलडाँगी खानेपानी आयोजनाको उद्घाटनपछि सम्बोधन गर्ने क्रममा उनले विकास निर्माणका काममा एक हुनुपर्ने बताए ।
झापाका जनताकै भोटबाट फेरि प्रधानमन्त्री भएको भन्दै उनले विश्वमा झापावासीको नाम राख्नेमा ढुक्क रहन पनि आग्रह गरे ।‘तपाईंहरूको प्रतिनिधि म फेरि प्रधानमन्त्री भएको छु, म देशका लागि थप केही गर्छु’ प्रधानमन्त्री ओलीले भने, ‘तपाईंहरूको पनि नाम विश्वमा राख्छु यसमा ढुक्क हुन म आग्रह गर्छु ।’
साथै, उनले बाँदरले जस्तो आफ्नो र अर्काको घर पनि भत्काउने गरेर देश नबन्ने दाबी गरे ।‘देश बनाउन हामी सबै एकताबद्ध हुनुपर्छ । हामीले बाँदरले जस्तो आफ्नो घर पनि नबनाउने र अरुको घर पनि भत्काउने गरेर देश बन्दैन,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले ले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको र देशभर बिजुली, कृषि, संचार, उद्योग र सरसफाइ आदिका अभियान संचालन गर्ने बताए ।
जनताले घरमै धारो खोलेर पानी खान पाउँदा आफूलाई आनन्द लाग्ने बताउँदै देशलाई अस्थिर हुन नदिन प्रमुख दलको नेतृत्वमा सरकार बनेकाले विकास निर्माणका अधुरा कामलाई गति दिने उनले बताए ।
कुल ५० करोड सात लाख ९२ हजार लागतमा निर्मित सो आयोजनाबाट नगरपालिकाको वडा न २, ३ र ४ का ६ हजार ५२१ घरधुरीका २६ हजार ७४३ जनसंख्या लाभान्वित हुने बताइएको छ ।
पछाडि परेका समुदायलाई अगाडि ल्याइने छ : ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पछाडि परेका समुदायलाई शिक्षा र रोजगारीमा सहज पहुँच दिएर अगाडि ल्याइने बताएका छन् ।गौरादहमा सोमबार आयोजित ताजपुरिया समाज कल्याण परिषदको २९ औं स्थापना दिवसको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साना–साना उद्योग सञ्चालन गरेर रोजगारी सिर्जना गर्दै उद्यमी बनाउने बाटोमा सरकारले काम गर्ने बताए ।
उनले आफ्नो समाजको कला, संस्कृति र परम्परालाई आधुनिक बनाउँदै निरन्तरता दिन आग्रह गर्दै समाजको मागलाई आवश्यक सुनुवाइ गर्न ध्यान दिने विश्वास दिए ।
कार्यक्रममा समाजका अध्यक्ष पूर्णलाल ताजपुरियाले प्रधानमन्त्री ओलीलाई अभिनन्दन समेत गरेका थिए ।