महारानीझोडा ,२४ मंसिर । करिव ६ दशकदेखि भोगचलनमा रहेर पनि धनीपुर्जा नपाएका झापा, गौरादह- ४ र ५ का जग्गाधनीहरुले जग्गा धनीपूर्जा पाएका छन् ।
साबिक महारानीझोडा गाविस र हाल गौरादह –४ र ५ अन्तर्गतका जग्गाधनीहरुलाई सोमबार एक कार्यक्रमका प्रधानमन्त्री केपी शर्मा ओलीले दर्ता प्रमाणपूर्जा वितरण गरेका हुन् ।
गौरादह –५, स्कुलचौनस्थित शिव मन्दिर परिसरमा विशेष नापी कार्यालय झापाको आयोजनामा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले जग्गाधनीहरुलाई धनीपुर्जा वितरण गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्री पत्नी राधिका शाक्य, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमन्त्री अग्नि खरेल, प्रदेश सांसद, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । त्यहाँका करिब ३ सयवटा पूर्जा वितरण गरिने जनाइएको छ ।
गत साउन महिनादेखि धनीपुर्जा वितरणको प्रक्रिया शुरु भएको थियो । त्यहाँको करिव ५ हजार विगाह जग्गाको धनीपुर्जा प्राप्त हुन सकेको थिएन । ती जग्गा करिव साढे ७ हजार जनाले भोगचलन गर्दै आएका छन् । यति धेरै जनाको जग्गाको समस्यालाई पटक पटक समाधान गर्न खोजिएपनि हल भएको थिएन ।सरकारले त्यहाँको जग्गाको समस्या हल गर्नेगरी काम अगाडि बढाएपछि पूर्जा वितरण कार्य भएको जनाईएको छ ।