फिदिम, २३ मङ्सिर । डाँगीहाट फुटबल क्लब मोरङले ‘प्रथम वाइवाइ किराँत गोल्डकप २०८०’ को उपाधि उचालेको छ। शनिवार साँझ सम्पन्न फाइनलमा मोरङले विर्ता युनाइटेड क्लब झापालाई २–१ गोल अन्तरले हराँउदै उपाधि उचालेको हो।
मोरङका सञ्जय धिमालले खेलको १० मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । जितका लागि दोस्रो गोल उमेश राईले ४७ औं मिनेटमा गरे । झापाका योगेश गुरुङले एक गोल गरे । प्रतियोगिताको विजेता मोरङले नगद चार लाख चार हजार चार सय ४४ रुपियाँ सहित ट्रफी पाएको हो। उपविजेता झापाले दुई लाख दुई हजार दुई सय २२ रुपियाँ र ट्रफीमा चित्त बुझायो।
त्यस्तै, प्रतियोगितामा विभिन्न विधाका ७ जना खेलाडीलाई पुरस्कृत गरिएको छ।विर्ता युनाइटेडका प्रदिप बुढाथोकी म्यान अफ दि म्याच बने । उनले नगद पाँच हजार पुरस्कार पाए ।
मोरङका सन्जय धिमाल खेल अवधिभरीकै सर्वाधिक गोलकर्ता, अभिशेक लिम्बू सर्वोत्कृष्ट खेलाडी बने। मानबहादुर परियार डिफेन्स, प्रमिजय गच्छदार गोल किपर, मोरङका उमेश कार्की उत्कृष्ट मिडफिल्डर र मोेरङकै राज लिम्बूले वेष्ट कोचबाट पुरस्कृत भए।आयोजक पाँचथर फुटबल क्लबका शुकराज राईलाई उदियमान खेलाडीका रुपमा पुरस्कृत गरियो। उनले नगद १५ हजार रुपियाँ प्राप्त गरे।
खेलमा विजेता र उपविजेता टिम र खेलाडीलाई कोशी प्रदेशका भौतिक पूर्वाधार तथा योजनामन्त्री कमलप्रसाद जवेगूेले पुरस्कार, ट्रफी र प्रमाणपत्र वितरण गरे।मंसिर १६ गते शनिबारदेखि सुरु भएको किराँत गोल्डकपमा नेपालको ए डिभिजन क्लब ‘हिमालयन शेर्पा’ र भारतको युनाइटेड फुटबल क्लब दार्जिलिङ सहित आठ टिमको सहभागिता थियो। खेलमा वाइवाइ तयारी चाउचाउले मुख्य प्रायोजकको भूमिका निर्वाह गरेको आयोजक पाँचथर फुटबल क्लवका अध्यक्ष अनुराग मगरले जानकारी दिए।