आजदेखि कलकत्तामा सुन्तला महोत्सव शुरु

कलकत्ता , २३ मंसिर । भारतको कलकत्तामा आजबाट सुन्तला महोत्सव शुरु भएको छ ।एसीयाली राष्ट्रहरुको ग्रामीण क्षेत्रको पर्यटन ,प्रर्वद्धनमा टेवा पुरयाँउने उद्देश्यले भारत पश्चिम बंगालको राजधानी कलकत्तामा यसवर्ष पनि सुन्तला महोत्सव शुरु भएको हो ।महोत्सवमा सहभागी हुन नेपालका बिभिन्न जिल्लाबाट पर्यटन ब्यवसायी कलकत्ता पुगेका छन्।
महोत्सवमा नेपाली सुन्तला, एभोकाडो, अकबरे खुर्सानी चियाजस्ता कृषिजन्य बस्तु र ढाकाका कपडा प्रदर्शनमा राखिएको छ । महोत्सवमा पूर्वी नेपालका राई लिम्बु जातिको जातीय नाँच, बर्दियाका थारु समुदायको जातीय नाच प्रदर्शन गरिने छ । तीन दिनसम्म चल्ने महोत्सवमा नेपाल, भारत, भुटान लगायत देशका गरी ३० बढी स्टल राखिएको एसोसीएसन फर कन्जरबेसन एण्ड टुरिजमका संयोजक तथा महोत्सव संयोजक राज बासुले जानकारी दिए ।

कलकत्ताको सल्टलेक सिटिसेन्टरमा सम्पन्न हुने महोत्सवमा भाग लिन प्रदेश १ को इलाम, धनकुटा, पाँचथर, झापाका पर्यटन ब्यवसायी र होमस्टे ब्यवसायी आफना परिकार र कोशेली लिएर कलकत्ता पुगेका छन् । महोत्सवमा उपस्थित राष्ट्रहरुको ग्रामीण पर्यटन बिकास र कृषि उत्पादनको बजारीकरणलाई विशेष प्राथमिक्ताका साथ प्रचार–प्रसार गरिने झापाका पर्यटन ब्यवसायी अर्जुन कार्कीले बताए ।
उनले भने, ‘यो महोत्सवले ठूलो संख्यामा नेपालमा पनि पर्यटक पुग्ने सम्भावना बढाएको छ ।’ देशको स्थानीय उत्पादनको प्रचार गर्न भारत, भूटान र बंगलादेशका पर्यटकलाई नेपालमा बोलाउन महोत्सवको विशेष महत्व रहेको उनको भनाइ छ । नेपाली सुन्तलाको चर्चा महोत्सवमा अत्यधिक हुनेगरेको छ ।
सन् १९८६ मा दार्जिलिङमा गोर्खाल्याण्डका समर्थक र बंगालका समर्थकबीच भएको द्वन्द्वले पारेको असरका कारण गोर्खाली र बंगालीबीच दूरी बढेको थियो । जसले नेपाल, भारत, भूटान र बंगलादेशको पर्यटनमा प्रत्यक्ष असर परेको थियो । सो असरलाई कम गर्न र पर्यटन प्रबर्धन गर्ने उद्देश्यका साथ सुन्तलालाई प्रमुख आकर्षण बनाएर महोत्सवको थालनी भएको आयोजकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.