दमक,२३ मंसिर । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली दुई दिने गृह जिल्लाको भ्रमणका लागि आज आइतवार झापा आउदै छन् । जिल्लामा आयोजना गरिएका विभिन्न कार्यक्रममा सहभागी हुन उहाँ गृह जिल्ला आउन लागेका हुन् ।
नेकपा एमाले झापाका अध्यक्ष प्रेम बहादुर गिरीले आज र भोलिसम्म जिल्लाका विभिन्न कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री ओली गृह जिल्ला झापा आउने भएको जानकारी दिए । उनका अनुसार जिल्लामा मुख्य कार्यक्रम दमक विजनेश टावरको उद्घाटन रहेको छ ।
असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएपछि उनको गृह जिल्लाको पहिलो भ्रमण हो । उनको यस पटकको भ्रमणलाई सत्तारुढ दुवै दलले सफल बनाउन समेत छलफल गरिएको पनि अर्थपूर्ण मात्र नभएर भव्य रुपमा सफल हुने एमाले जिल्ला अध्यक्ष गिरी बताउँछन् ।
अध्यक्ष गिरीका अनुसार आज पहिलो दिन उनी दुई वटा मात्र कार्यक्रममा मात्र सहभागि हुने छ । प्रम ओलीले दिउँसो १२ बजे मेचीनगर–४ स्थित मानबसेवा आश्रममा भवनको शिलान्यास तथा उद्घाटन र दिउँसो १.३० वजे दमक –३ स्थित दापगाछीमा नवनिर्मित बिजनेस टावरको समुद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
यस्तै, दोस्रो दिन २४ गतेको पहिलो कार्यक्रम १० बजे बेलडाँगी खानेपानी योजनाको उद्घाटन , ११ बजे गौरादह नगरपालिका अन्तर्गत महारानी झोडा (स्कुलचौन) मा जग्गाधनीपुर्जा बितरण, १२ः३० बजे गौरादह बजारमा ताजपुरिया समाजको भेलालाई सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । मेचीनगर बाहेक अन्य क्षेत्रका सवै कार्यक्रम उनको झापा क्षेत्र न. ५ निर्वाचन क्षेत्र हो ।
यसैगरि, ओलीले दिनको २ वजे बिर्तामोडस्थित सिटी सेन्टरमा पार्टी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने गर्ने पार्टी जिल्ला सचिव तुलसी कार्कीले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको झापा भ्रमणलाई सफल बनाउन नेपाली कांग्रेस र एमालेबीच छलफल भएको थियो । जिल्लास्थित सत्ता संयन्त्रले भ्रमणलाई सफल बनाउदै जिल्लाको साना ठुला योजना पेश गर्ने बताइएको छ ।
दमक बिजनेस कम्प्लेक्स निर्माण पूरा
प्रधानमन्त्री ओलीको निर्वाचन क्षेत्रमा पर्ने झापाको दमक नगरपालिका वडा न. ३ स्थित दापगाछीमा निर्माण भएको दमक भ्यू टावर (प्रस्तावित दमक बिजनेस कम्प्लेक्स) को आज भव्य समारोहका बीच उद्घाटन गरिदै छ । स्थानीय सरकार वा कुन निकायले सञ्चालन गर्ने भन्ने विषयमा अन्योलता सिर्जना भइरहेको समयमा भ्यूटावरको उनले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
प्रधानमन्त्री ओलीले विस २०७६ साल असार २७ गते भ्यूटावरको शिलन्यास गरेका थिए । एक सय मिटर अग्लो यो कप्लेक्स १८ औं तलाकोे छ । ७२ मिटर उचाइ कंक्रिट संरचनामा बनेको छ भने २८ मिटरमा मेटल फ्रेमको टावर रहेको छ ।
सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीका अनुसार भ्यूटावर निर्माणमा कुल रु एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सुरुको सम्झौता रहेकोमा परियोजना सम्पन्न हुँदा ५ दशमलव ४ प्रतिशत लागत मूल्य बढ्न पुगेको छ । लागत मूल्य बढ्दा यस भ्यूटावरको कुल लागत रु एक अर्ब ४५ करोड हुन पुगेको आयोजनाले जानकारी दिएको छ ।
यो भ्यूटावर निर्माणको जिम्मा चिनियाँ कम्पनी जेडसीजीआईआईसी र आशिष ओम साइराम निर्माण कम्पनी जेभीले पाएको थियो ।