दमक,२१ मंसिर । झापा, कमल गाउँपालिका ५ की महिला स्वास्थ्य स्वयंसेविका बिमलादेवी भट्टराई सहित जिल्लाका १५ जना महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान गरिएको छ ।
२१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा विहिबार कोशी प्रदेश सरकारको ‘एक पालिका, एक महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मान कार्यक्रम’ अन्तर्गता अन्तर्गत झापाका १५ वटा पालिकाका १५ जना स्वास्थ्य स्वयंसेविकाहरुलाई जनही १२ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।
यसरी सम्मानित हुनेमा कमलकी भट्टराई सहित मञ्जु नेपाल मेचीनगर, रमला लिम्बू बुद्धशान्ति, लता खतिवडा अर्जुनधारा, कृष्णकुमारी कटुवाल कनकाई, तुलसादेवी घिमिरे शिवसताक्षी, कमल, रिता गौतम दंगाल दमक, गीता कार्की थापा गौरादह, गायत्री बस्नेत गौरीगञ्ज, सकुन्तला कटुवाल झापा, मिनाकुमारी राजवंशी बाह्रदशी, विष्णुकला चौधरी बिर्तामोड, शारदा उप्रेती हल्दिबारी, सविता पोखरेल भद्रपुर र मिरा घिमिरे नेपाल रहेकी छन् ।
उनीहरुलाई जिल्ला समन्वय समिति झापाका प्रमुख विश्वनाथ बराल, स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख चुडामणि लुइँटेल, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कोशी प्रदेश उपाध्यक्ष निर्मला सुवेदी नेपालले सम्मानपत्र प्रदान गरेका थिए ।
झापाका १५ वटा पालिकामा हाल ६०५ जना सामुदायिक स्वास्थ्य स्वयंसेविकाले सेवा प्रदान गर्दै आएका छन् ।