
पथरीशनिश्चरे, १९ मंसिर । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानअन्तर्गत आज आईतबार मोरङको पथरीशनिश्चरेस्थित शनिश्चरे चोकमा कचहरी नाटक ‘दोषी को ?’ प्रदर्शन भएको छ ।
लैङ्गिक हिंसाअन्तर्गत सार्वजनिक यातायात, सार्वजनिकस्थल, सामाजिक सञ्जालमा हुने गरेको महिला हिंसालाई नाटकले केन्द्रीत बनाएर नाटक मञ्चन भएको हो ।
यसका अतिरिक्त शिक्षण संस्थाहरुमा समेत नजानिँदो तवरले छात्राहरुमाथि हिंसा हुने गरेको कुरा पनि नाटकले प्रस्तुत गरेको थियो ।
कार्यक्रममा पथरीशनिश्चरे नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले लैङ्गिक हिंसा अन्तर्गत महिला नै बढी हिंसाको सिकार भएकाले सचेतनाको आवश्यकता रहेको र नाटकले त्यस्तो सचेतना प्रवाह गरेको बताईन् ।
पथरीशनिश्चरे नगरपालिका कार्यालयको सहयोगमा नगरस्थित महिला फेडेरेशनले आयोजना गरेको कार्यक्रममा शब्द थिएटरका कलाकारहरुको प्रस्तुति रहेको थियो । नाटकमा विद्यालय विद्यार्थी, शिक्षक सहितका दर्शकहरुले आफुहरुलाई सक्रिय सहभागिता जनाई हिंसा अन्त्य गर्ने बारेमा कचहरी गरेका थिए ।
भूपेन्द्रराज तिम्सिनाको लेखन, जीवन बरालको निर्देशनमा प्रस्तुत नाटकमा लेखक भुपेन्द्र , निर्देशक बरालका साथै सुमन कुइकेल बराल, मेनुका कुलुङ, लीला कुलुङ, इश्वर दुलाल, विमला पोखरेल, प्रेम खतिवडा र नविन गुरुुङको अभिनय रहेको थियो । अभियान अन्तर्गत सो नाटक भोलि हसन्दह चोकमा ,मंसिर २४ गते पथरीको यलम्बर चोकमा प्रदर्शन हुने नाटककार तिमल्सिनाले बताए ।