दमकका शाहले दिए, कांग्रेसलाई कुर्सी

दमक,१८ मंसिर । दमक- ९ घर भई हाल अमेरिका बस्दै आएका सामाजिक व्यक्तित्व शिव शाहले नेपाली कांग्रेस दमक र गौरीगञ्ज पार्टी कार्यालयका लागि प्लास्टिकको कुर्सी सहयोग गरेका छन् ।
शाहले दमक पार्टी कार्यालयका लागि १ सय थान र गौरीगञ्ज पार्टी कार्यालयका लागि २५ थान कुर्सी उपलव्ध गराएका हुन् । पार्टी कार्यालय व्यवस्थापनका लागि शाहले कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाई र गौरीगञ्जका लागि सचिव गोपाल ताजपुरियामार्फत हालै उक्त सहयोग सामाग्री हस्तान्तरण गरिएको दाता शाहले बताएका छन् ।
यसअघि शाहले कांग्रेस दमक पार्टी कार्यालयका लागि क्षेत्रीय सभापति ढुण्डीराज भण्डारी र प्रतिनिधिसभाकी सांसद महेन्द्रकुमारी लिम्बूमार्फत एक थान कम्प्यूटर उपलव्ध गराएका थिए ।
प्रवासमा रहेर पार्टी र सामाजिक कार्यमा सक्रिय शाह अमेरिकामा गठित नेपाली कांग्रेसको भातृ संगठन ,जनसम्पर्क समितिमा रहेर प्रवासमा रहेका नेपालीहरुको समस्याका बारेमा वकालत गरिआएका छन् । जनसम्पर्क समिति अन्तर्गतको आदिवासी जनजाति विभागको महासचिव भएर नेतृत्वदायी भूमिका निर्वाह गरिआएका शाह गएको संविधानसभाको निर्वाचनमा अमेरिकाको जनसम्पर्क समितिको प्रवासको कोटामार्फत सभासदको सिफारिसमा परेका थिए ।
२०४३ सालमा दमकको सरस्वती माध्यमिक विद्यालय इटाभट्टामा नेविसंघ इकाई सभापतिको जिम्मेवारीका साथ पार्टी संगठनमा क्रियाशील उनले २०४६ सालको जनआन्दोलन र पार्टीले सञ्चालन गरेको विभिन्न आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरिआएका थिए ।
विदेशमा बसेर पनि पार्टी र सामाजिक कार्यमा रुचिका साथ काम गरिआएका उनले नेपालमा कोभिड–१९ को महामारीका समयमा दमकका २५० बढी विपन्न परिवारलाई खाद्यान्न राहत उपलव्ध गराएका थिए । त्यस्तै, नेपालमा आएको महाभुकम्पका समयमा उनले दमक नगरपालिकामार्फत खाद्यान्न राहत समेत उपलव्ध गराएका थिए । अमेरिकामा बस्दै आएका मधेशी संगठनका स्थापित एन्टाको उपाध्यक्ष भएर काम गरेका उनले भने,‘प्रवासमा बसेर पनि आफूले विपत्ति ,अफठ्यारो अवस्थामा यसरी नै सेवा पुरयाँउन भुल्ने छुइन् । ’

Leave a Reply

Your email address will not be published.