झापा, मंसिर १८ । बसको ठक्करबाट झापाको मेचीनगरमा आज दिउँसो एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भद्रपुर नगरपालिका वडा नं१० सहिद चोक बस्ने अन्दाजी ५५ वर्षीय किसन न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार आज दिउँसो अन्दाजी १२ः३० बजे मेचीनगर -१३ तेलिबारीस्थित पूर्वपश्चिम राजमार्गमा बागमती प्र–०१– ००६ ख ४९०९ नम्बरको बस र मे १० प ३५७२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई न्यौपाने घाइते भएका थिए ।धुलाबारीबाट चारआलीतर्फ आउँदै गरेको सो बसले बिपरित दिशाबाट जाँदै गरेको मोटरसाइकलले बाटो क्रस गर्न खोज्दा ठक्कर दिएको बताइएको छ ।
घाइते न्यौपानेलाई उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएकोमा अस्पताल ल्याइपुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका छन् । बस, बस चालक उदयपुर चौदण्डीगढी नगरपालिका ६ बस्ने अन्दाजी ४२ वर्षीय बिजयकुमार यादव र मोटरसाइकल इलाका प्रहरी कार्यालय धुलाबारीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा झापामा तीन जनाको मृत्यु
झापामा दुर्घटनामा परी घाइते भएका तीन जनाको हिजो मात्र मृत्यु भएको थियो । दुईजनाको मोटरसाइकल दुर्घटनामा र अर्का एकजनाको साइकलबाट लडेर मृत्यु भएको हो । गत कात्तिक महिनामा जिल्ला सवारी दुर्घटनामा परी १४ जनाले ज्यान गुमाएका थिए । मंसिर महिनामा मात्र ६ जनाको दुर्घटनामा मृत्यु भइसकेको छ । सडक दुर्घटना न्यूनीकरण गर्न तीनदिन देखि झापामा टाइमकार्ड लागु भएको छ ।