बिभिन्न कार्यक्रम गरी दमकमा जेसीज सप्ताह समापन

दमक,१७मंसिर । बिभिन्न कार्यक्रमहरु गर्दै आज दमकमा जेसीज सप्ताह समापन गरिएको छ । दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रमका वक्ताहरुले सकारात्मक सोच भएका युवाहरुको समूह जेसीजले समाज परिवर्तनका लागी महत्वपूर्ण योगदान गरेको चर्चा गरेका थिए । स्थानीय दमक उद्योग वाणिज्य संघको सभाहलमा आयोजित समापन कार्यक्रममा प्रमुख अतिथि थापा, नेपाल जेसीजका पूर्व अध्यक्ष प्रकाश प्रसाद अधिकारी, नेपाल जेसीजका उपाध्यक्ष कुमार सिंह सावाँ, दमक रेडक्रस सभापति प्रकाश बुढाथोकी लगायतले बोलेका थिए ।
समापनका अवसरमा जेसीज सप्ताह कार्यक्रम सफलता पूर्वक सम्पन्न गराउन सहयोग पुरयाँउने व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान तथा पुरस्कार समेत प्रदान गरिएको थियो ।
समापन कार्यक्रम अघि आजै सप्ताह कार्यक्रम अन्तर्गत दमक उद्योग बाणिज्य संघको सभाहलमा अटिजम रोगको बारेमा सचेतना कार्यक्रम गरिएको थियो । कार्यक्रममा अटिजम रोग बिषेसज्ञ आकार फाउण्डेशनका प्रबन्ध निर्देशक प्रिज्मा थापाले अटिजम न्यूनीकरणका बिषयमा चर्चा गरेका थिए ।
गत विहिबारदेखि शुरु भएको जेसीज सप्ताह अन्तर्गत बिभिन्न सातवटा कार्यक्रमहरु गरिएको दमक जेसीजका अध्यक्ष सन्जिब बरालले जानकारी दिए ।जेसीज सप्ताह अन्तर्गत विहिबार सप्ताह कार्यक्रम उद्घाटनसहित साईकल र्याली, नेत्र तथा दन्त शिविर र फिजीयोथेरापी सम्बन्धी सचेतना कार्यक्रम गरिएका थिए । त्यसैगरि दोस्रो दिन शुक्रवार दमक -८ स्थित जनता माध्यमिक विद्यालयका विपन्न विद्यार्थी शैक्षिक सामाग्री हस्तान्तरण र दमक बहुमुखी क्याम्पसमा प्रकरण गोष्ठी सञ्चालन गरिएको अध्यक्ष बरालले बताए ।

Leave a Reply

Your email address will not be published.