प्रशोधित तेलको निकासी बढ्यो

विराटनगर, १५ मङ्सिर । विराटनगर भन्सार कार्यालयबाट चालू आर्थिक वर्ष २०७८-७९ को पहिलो चौमासिकमा सबैभन्दा बढी प्रशोधित तेल निकासी भएको छ । भन्सार कार्यालयको तथ्याङ्कअनुसार पहिलो नम्बरमा प्रशोधित भटमासको तेल र दोस्रो नम्बरमा पाम तेल रहेका छन् ।
पहिलो चौमासिक अवधिमा आठ अर्ब ५३ करोड ६४ लाख मूल्यको ३८ हजार १८९ टन भटमासको प्रशोधित तेल निर्यात भएको भन्सार कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यस अवधिमा पाँच अर्ब ४९ करोड ६३ लाख मूल्यको २६ हजार ८२४ टन प्रशोधित पाम तेलको निकासी भएको छ । निकासी भएका दस उत्कृष्ट वस्तुमा भटमास र पाम तेल क्रमशः पहिलो र दोस्रो नम्बरमा रहेका छन् ।
भारतले गत असोजको अन्तिम सातामा समुद्रपारका मुलुकबाट पैठारी हुने कच्चा तेलको भन्सार महसुल २ तहले घटाएको थियो । त्यसपछि पनि नेपालका रिफाइनरीले प्रशोधित तेलको निर्यात गरिरहेका छन् । व्यवसायीहरूले पुरानो स्टकको कच्चा तेल भएको हुँदा भटमास, पाम र सूर्यमुखीको तेलको निर्यात भइरहेको बताएका छन् ।

उनीहरूले आगामी माघसम्म स्टकमा भएको वस्तु प्रशोधन गरेर निर्यात गरिने भए पनि त्यसपछि भारतको निर्णयको प्रभाव पर्ने दाबी गरेका छन् । अहिले तेलको कच्चा आयातका लागि उद्योगीले कुनै पहल नगरेको दाबी गरेका छन् ।
यसैगरी निर्यातको तेस्रो नम्बरमा जुटका उत्पादनहरू छन् । यस अवधिमा जुटका बुनिएका कपडा र जुटका बोरा गरी पाँच अर्ब ४८ करोड ६७ लाख मूल्यको निकासी गरिएको छ । कात्तिक मसान्तसम्ममा दुई अर्ब २६ करोड ७९ लाख रुपियाँको ४७ हजार २५१ टन सिन्थेटिक यार्न निर्यात भई चौथो नम्बरमा रहेको छ ।
त्यस्तै उनी, सुती र टेरिकटन बाहेकका अन्य कपडा ७८ करोड नौ लाख बराबरको ४७ करोड वर्ग मिटर, सूर्यमुखीको प्रशोधित तेल ४५ करोड ७६ लाख बराबरको दुई हजार ३२३ टन र ३५ करोड ९४ लाख बराबरको दुई हजार ३३९ टन चाउचाउ, नुडल्स तथा पास्ताको निकासी गरिएको छ । कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा २५ करोड ४९ लाख मूल्यको सात हजार तीन सय टन पिना, २० करोड मूल्य बराबरको दुई हजार ३६८ टन भटमासको पिना पनि निर्यात भएको छ ।

भन्सार कार्यालय विराटनगरका सूचना अधिकृत रामचन्द्र ढुङ्गानाका अनुसार १५ अर्ब ९५ करोड ७० लाखको लक्ष्यमा १४ अर्ब ५७ करोड २३ लाख सङ्कलन भएको हो ।कार्यालयले भन्सार महसुलतर्फ सात अर्ब ८५ करोड ५३ लाखको लक्ष्यमा छ अर्ब १६ करोड ५१ लाख, मूल्य अभिवृद्धितर्फ छ अर्ब ७९ करोड ९९ लाखको लक्ष्यमा सात अर्ब २३ करोड ४९ लाख असुल गरेको । यस्तै अन्तः शुल्कतर्फ एक अर्ब ३० करोड १७ लाखको लक्ष्यमा एक अर्ब आठ करोड ९३ लाख असुली भएको सूचना अधिकारी ढुङ्गानाले जानकारी दिए । कार्यालयले पहिलो चौमासिक अवधिमा लक्ष्यको ९१.३३ प्रतिशत मात्रै राजस्व सङ्कलन गरेको हो ।

Leave a Reply

Your email address will not be published.