दमक अस्पतालबाट २१३ जनाले एआरटी औषधी लिदै

दमक,१५ मंसिर । दमक अस्पतालबाट यहाँका २१३ जना एचआइभी संक्रमितले नियमित रुपमा एआरटी औषधी सेवन गरिआएका छन् ।३५ औं विश्व एड्स दिवसका अवसर पारेर विहिबार दमक नगरपालिका र लिड नेपालले संयुक्त रुपमा आयोजना गरिएको अन्तरकृयामा उक्त जानकारी दिईएको हो ।
नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत नगेन्द्र भट्टराईका अनुसार दमक अस्पतालबाट २१३ जना एचआइभी संक्रमितहरुले नियमित रुपमा एआरटी औषधी सेवन गरिआएका छन् ।
जिल्लाको भद्रपुरस्थित मेची अस्पताल र दमकको दमक अस्पतालमा संक्रमितका लागि रोगप्रतिरोधात्मक एआरटी औषधी निशुल्क उपलव्ध छ । दमकमा भने एकबर्षदेखि त्यस्तो सुविधा उपलव्ध गराउदै आएको उनले बताए ।
उहाँका अनुसार एआरटी औषधी लिनेमा ८ जना बालबच्चा, २१ जना तेश्रो लिङ्गी, ८९ जना महिलासहित २१३ जना रहेका छन् । अस्पतालबाट सेवा लिने संक्रमितहरुलाई नियमित रुपमा स्वास्थ्य परीक्षण समेत गरिदैआएको उनले जानकारी दिए ।एचआइभी संक्रमण विशेषत असुरक्षित यौनसम्पर्क, लागूऔषध प्रयोगकर्ता हुने गरेको उनको भनाई थियो ।
अन्तरकृयामा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले एड्सको जोखिम अवस्था नियन्त्रण गर्न सबैको प्रयास भएमात्र सफलता प्राप्त हुने बताईन् ।
तेश्रो लिङ्गीको अधिकारका क्षेत्रमा कामगरिआएको संस्था लिड नेपाल झापाकी कार्यक्रम संयोजक चन्चला सुब्बाले एचआइभी संक्रमितहरुको बाँच्न पाउने अधिकार अझै सहन हुन नसकेको औल्याईन् ।
उनले संक्रमितहरुले लिदैआएको एआरटी क्षयरोगका विरामीसंगै एकै ठाँउबाट लिनुपर्ने तथा विपन्नका लागि आवासीय सुविधामा सहयोग पुग्न नसकेको गुनासो गरिन् ।
अन्तरकृयामा नगर स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराई, अग्रज पत्रकार गञ्जबहादुर दाहाल लगायतले एचआइभी ,एड्सको नियन्त्रण तथा रोकथामका विषयमा सचेतना अझै खाँचो रहेको औल्याए ।
सरकारले संक्रमितहरुको स्वास्थ्य उपचारमा जोड दिनका लागि निशुल्क स्वास्थ्य बिमा तथा विपन्नलाई खाद्यान्न सहयोग समेत उपलव्ध गराउदैआएको छ ।अन्तरकृयामा महिला स्वमसेबिकाकी अध्यक्ष मेनुका बुढाथोकी ,स्वास्थ्यसवमसेविका लगायतको उपस्थिति रहेको थियो ।यसैगरि दिवसका अवसर पारेर दमकको गणतन्त्र चौंकमा दीप प्रज्जवलन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published.