
दमक,१५ मंसिर । नेपाली कांग्रेस झापाका युवा नेता हुकुमसिंह राई कांग्रेस १ नम्बर प्रदेश कार्यसमिति सदस्यका उम्मेदवार बन्ने भएका छन् ।यही मसिंर १८ गते विराटनगरमा हुने कांग्रेसको प्रदेश अधिवेशनमा उनले आदिवासी जनजाति कोटाबाट १ नम्बर प्रदेश सदस्यमा उम्मेदवारी दिने निधो भएको बताए ।
आज बुधबार विराटनगरमा झापा , मोरङ , सुनसरी, इलाम , पाँचथर लगायत १४ जिल्लाका कांग्रेस नेताहरुसंगको छलफलपछि उनको उम्मेदवारीको बिषय टुंगो लागेको हो ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा एमालेसंग खरो प्रतिस्पर्धा गरेर चर्चामा आएका राईले प्रदेश अधिवेशनमा उम्मेदवारी दिने भएपछि पार्टी वृतमा चर्चापरिचर्चा पाउन थालेको छ ।
गएको स्थानीय तहको निर्वाचनमा कमल गाउँपालिकाको अध्यक्ष पदमा एमाले नेतृ मेनुका काफलेसंग ८२७५ -८२७५ बराबर मत ल्याएका उनी गोलाप्रथाबाट बाहिरिएका थिए । कांग्रेस झापाको राजनीतिमा चर्चामा आएका उनले कांग्रेसको हालै सम्पन्न क्षेत्रीय अधिवेशनमा क्षेत्रभरिमा नै सर्वाधिक मत पाएर महाधिवेशन प्रतिनिधि निर्वाचित भएका थिए ।
महाधिबेशन प्रतिनिधिको आन्तरिक निर्वाचनमा पार्टी नेतृत्व र कार्यकर्ताहरुको विश्वास पाएका उनले आफूले पाएको जिम्मेवारीसंगै प्रदेशमा पार्टीको नेतृत्वका लागि आकर्षित भएका हुन ।
युवा पुस्ताको साथ र पाकाहरुको आशिर्वादलाई सर्वोपरी ठानेर कांग्रेस राजनीतिमा सक्रिय बन्दै आएका नेता राईले नेपाली राजनीतिलाई सही बाटोमा दिशा निर्देश गर्न आफनो उम्मेदवारी रहेको स्पष्ट पारेका छन् । नेपाल बिद्यार्थी संघबाट राजनीतिमा सक्रिय युवा व्यक्तित्व राईले असल राजनीति जरुरी भएकाले त्यसका लागि प्रदेशको राजनीतिमा आर्कषित भएको उल्लेख गरे ।
राजनीतिसंगै सामाजिक क्षेत्रमा पनि उदाहरणीय कामहरु गरेर सर्वसाधारण नागरिकको मन जित्न सफल हुँदै आएका छन् ।
राजनीति र सामाजिक सेवाको क्षेत्रलाई संगसंगै लैजानु आवश्यक ठान्ने गरेका नेता राई भन्छन– ‘युवा पुस्तामा राजनीतिप्रति एकदमै धेरै वितृष्णा छ कतिपय विचारबिहिन र लक्ष्यहीन समूहले आफनो निहित स्वार्थका लागि बदनाम गर्ने चेष्टा गरिरहेका छन , राजनीतिक संस्कार र शैलीमा परिवर्तन ल्याउन आवश्यक छ । ’ राजनीति समाजसेवाको एउटा माध्यम मात्रै नभएर राष्ट्रियता र लोकतन्त्रका निम्ती अनिवार्य तत्व भएको भन्दै उनले राजनीति भनेको सत्तारोहणको माध्यम मात्रै बन्नु हुँदैन जस्तो सुकै परिस्थितिमा पनि राजनीति जनतामा जोडिनु पर्ने स्पष्ट पार्छन् ।
राई अगाडी भन्छन– ‘जनताको आशा र विश्वास टुटन नदिने वाचासहितको राजनीति हुनुपर्छ । ’उनी एकताका कांग्रेसमा सबैभन्दा कान्छो महाधिवेशन प्रतिनिधि पनि बनेका थिए ।
कांग्रेस झापाको तत्कालिन जिल्ला सदस्य समेत रहेका उनले संघीय संरचनाको कार्यान्वयनमा महत्वपूर्ण मानिएको प्रदेश अधिवेशनमा आफनो उम्मेदवारी आदिवासी जनजाति कोटाबाट प्रदेश कार्यसमितिमा रहेको भन्दै सहयोगका लागि नेता, कार्यकर्ताहरुसंग अपिल गरेका छन् ।