स्थानीय तह उपनिर्वाचन : कन्काई– ६ मा मतदान शुरु

झापा, १६ मंसिर । झापाको कन्काई– ६ मा वडाध्यक्ष पदको लागि मतदान शुरु भएको छ । अहिले बिहान ७ बजेदेखि मतदान शुरु भएको हो । मतदानस्थल तोकिएको कन्काई ६ स्थित चम्पापुर माध्यमिक विद्यालयको दुईवटा मतदान केन्द्रमा मतदान शुरु भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । त्यहाँ २०५८ जना मतदाता रहेका छन् भने ९ जनाले उम्मेद्वारी दिएका छन् । ।

जनप्रतिनिधिको मृत्यु वा राजीनामाका कारण रिक्त बनेका स्थानीय तहका पदमा आइतबार उपनिर्वाचन भइरहेको हो । नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन गरिएको हो ।

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा २० राजनीतिक दलका र स्वतन्त्रसमेत गरेर ३ सय ७६ जना उम्मेदवार छन् । उपनिर्वाचन हुने स्थानीय तहमा २ लाख २६ हजार ७ सय ९९ मतदाता छन् ।

१ सय ६२ मतदानस्थलमा २ सय ९३ मतदान केन्द्र बनाइएको छ । मतदानका लागि आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ । मत हाल्न मतदाता परिचयपत्र लिएर मतदान केन्द्रमा पुग्नुपर्नेछ । मतदाता परिचयपत्र नरहे परिचय खुल्ने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक परिचयपत्र, राहदानी वा स्थायी लेखा नम्बर भएको परिचयपत्रका आधारमा मतदान गर्न मिल्ने आयोगले जनाएको छ ।

कहाँ-कहाँ हुँदैछ मतदान ?

निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा अहिले बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम ९पूर्वी भाग० पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि मतदान हुँदैछ ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काई नगरपालिका वडा नं ६, तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपालिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहतको ईशनाथ नगरपालिका वडा नं ७, रौतहटका राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ मा मतदान हुनेछ ।

काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नं १६, कीर्तिपुर नगरपालिका वडा नं १ र ४, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ र रुकुम ९पश्चिम भाग०को सानीभेरी गाउँपालिका वडा नं ५ वडाध्यक्ष पदका लागि मतदान हुँदैछ ।

दैलेखको दुल्लु नगरपालिका वडा नं १३, जाजरकोटको कुसे गाउँपालिका वडा नं ७, कालीकोटको तिलागुफा नगरपालिका वडा नं ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, बझाङको सूर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ मा मतदान हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् ।

यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी -भूल तथा रुकुम -पूर्वी भाग० पुगा उत्तरगङ्गा गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् । उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता भएको थियो ।

Leave a Reply

Your email address will not be published.