पथरी जेसीज सप्ताहको समापन , लेखक दिपेन्द्र तिम्सिना सम्मानित

पथरीशनिश्चरे, १५ मंसिर । यहाँस्थित पथरी जेसीजले १४ औँ वार्षिकोत्सव तथा जेसीज सप्ताह विभिन्न कार्यक्रम गरि मनाएको छ । पथरी शनिश्चरे वडा नं १ स्थित हरियाली सामुदायिक वनको सभाहलमा आयोजित जेसीज सप्ताह समापनमा गजल महफिल कार्यक्रमको आयोजना गरेको छ। झापा, मोरङ, सुनसरी र धनकुटाका ७ जना गजलकारहरूले सुमधुर तथा कर्णप्रिय गजलहरू वाचन गर्दै पथरी शनिश्चरे नगरीलाई गजल महफिलमा दर्शक तथा श्रोताहरूको मन खिचेका थिए । त्यस्तै, जेसीज सप्ताह तथा १४ औं वार्षिकोत्सवको केक समेत काटेर एकापसमा शुभकामना साटसाट गरिएको थियो ।
कोशी प्रदेशकी सांसद् गीता तिम्सिनाले जेसीज आस्थामा भने झैँ शासन व्यक्तिको नभई विधिको हुनुपर्ने जोड दिईन्। पथरी जेसीजले सप्ताहका क्रममा पथरी शनिश्चरे ६ गेलावारीमा बस्दै आएका अति विपन्न ऋषिदेव परिवारका बालबालिकाहरूको शिक्षा, स्वास्थ्य लगायतका लागि ७ वर्षे योजना अगाडि सारेकोमा खुसी व्यक्त गर्दे उनले धन्यवाद समेत प्रदान गरिन् ।

पथरी जेसीज वर्ष २०२४ का अध्यक्ष तथा सीआई सेनेटर राजकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पथरीशनिश्चरे १ मा बसोबास गर्दै एक दर्जन बढी खोजमूलक पुस्तक लेखन तथा प्रकाशन गरिआएका खोज ,अनुसन्धानकर्ता दिपेन्द्रराज तिम्सिनालाई दोसल्ला ओडाएर सम्मानपत्रले सम्मानित गरिएको थियो।
लेखक तिम्सिनाले मोरङको सामुदायिक वन एक चिनारी, मोरङको क्षेत्र नम्बर २ एक चिनारी, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म, धिमाल जातिको इतिहास विगतदेखि वर्तमानसम्म, इतिहासमा पथरीशनिश्चरे, मोरङका जनप्रतिनिधि संङगालो, माईखोलादेखि पुनर्वास सम्म, इतिहासमा गुमनाम विषे नगर्ची, जस्ता पुस्तक प्रकाशन गरिसकेका छन्।
सो कार्यक्रमका दर्शक तथा श्रोताहरूलाई सुनसरीका राजन भट्टराई, मोरङ उर्लाबारीका टिका खड्का राष्ट्रप्रेमी, उर्लाबारीकै मुना आत्रेय, सुनसरी धरानकी तारा दिप्साली राई, दमक झापाकी कल्पना आचार्य, धनकुटा पाख्रीबासका निश्चल भण्डारी र मोरङ पथरीका ओम प्रकाश शर्मा अभिन्नले आफ्ना सुन्दर गजलहरु वाचन गरेर मन्त्रमुग्ध पारेका थिए।
पथरी जेसीजकी महासचिव निर्मला भट्टराईले सञ्चालन गरेकी थिइन् भने साहित्यतर्फको कार्यक्रमको सञ्चालन दिपक दियालोले गरेका थिए ।
उक्त अवसरमा पथरी जेसीजका पूर्व अध्यक्ष अशोक शङ्करले शुभकामना मन्तव्य राखेका थिए भने साहित्यकार तथा पत्रकार भूपेन्द्रराज तिम्सिना, साहित्यकार लक्ष्मीप्रसाद फुयाल, पथरी शनिश्चरे नगरपालिकाका पूर्व मेयर दिलिप राई, इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी मोहनविक्रम दाहाल, विभिन्न मातृ तथा भगिनी शाखाहरूबाट जेसीज पदाधिकारीहरूको समेत उल्लेख्य उपस्थिति रहेको थियो। यसैगरि, जेसीज सप्ताहका क्रममा पथरी शनिश्चरे वडा नं १०का डाँस मोरङ्गी गंगा आर्यघाटमा सरसफाई, सचेतना बोर्ड स्थापना, वडा नं २ को पथरी नगर अस्पताल परिसरमा सरसफाई सहित विभिन्न कार्यक्रमहरु गरिएको कार्यक्रम संयोजक नगेन्द्र बहादुर घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published.