दमक , १४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका झापा क्षेत्र न. ३ का नवनिर्वाचित सांसद राजेन्द्र लिङ्देनले आज एकै दिन तीनवटा पुलको शिलान्यास गरेका छन् ।
उनले आज एक कार्यक्रमका बीच आफनो निर्वाचन क्षेत्र अन्तर्गत हल्दिवारी गाउँपालिकामा निर्माण हुन लागेको ३ वटा पक्की पुलको शिलान्यास गरे ।
ती पुलको कुल लागत रु ४ करोड ६७ लाख ९४ हजार ८ सय ७८ रहेको छ । ३ वटा पुल निर्माणका लागि सारा सृष्टि निर्माण सेवा प्रालिले ठेक्का संझौता गरि २०८१ मंशिर ५ गते निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख गरिएको छ ।
जस अन्तरर्गत वडा न. १ र ५ जोड्ने भुतेनी खोलामा ४२.७ मिटर लम्बाइको, त्यसैगरी वडा न. ३ को भुसुडी खोलामा २६.८ मिटर लम्बाइको र भुसुडी खोलाकै अर्को स्थानमा २६.८ मिटर लम्बाईको पुल निर्माण हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठले जानकारी दिए ।
गाउँपालिका क्षेत्र भित्रका अन्तिम ३ वटा काठका पुल विस्तापित गर्दै पक्की पुल निर्माणका लागि ठेक्का लगाइसकेको बताउँदै समयसीमा भित्र निर्माण सम्पन्न हुने गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताए ।कार्यक्रममा झापा निर्वाचन क्षेत्र न. ३ (ख ) का नव निर्वाचित सांसद छवि चुडालको समेत उपस्थिति रहेको थियो ।