—श्याम लम्साल
षडानन्द अधिकारीको जन्म १८९२ साल मंसिर शुक्ल पञ्चमीमा भोजपुर दिङ्लास्थित गढीगाउँमा भयो । उनका पिता लक्ष्मीनारायण र माता रुक्मिणी हुन् । बाल्यकालमा यिनलाई खडु पनि भनिन्थ्यो । पछि आबाल ब्रह्मचारी, ब्रह्मचारी र गुरु षडानन्द भनियो । तथापि, यिनका सान्निध्यका शिष्य र भक्तहरू बालागुरु, गुरु महाराज भन्न रुचाउँथे । मातापिताका यी कान्छा सन्तान हुन् । गर्भमा हुँदै पिताको स्वर्गवास भएको हुँदा गर्भे टुहुरा यिनको स्याहार–सुसार आमा, दाजु र दिदीले गरेका थिए।
यिनको आठ वर्षको उमेरमा यज्ञोपवित संस्कार भयो । यज्ञोपवित संस्कार भएपछि यिनी घरबार छोडी विद्याध्ययनका लागि परदेश लागेका हुन् । सर्वप्रथम यिनले जनकपुरको ब्रह्माचार्याश्रममा बसी गुरुकुल प्रणालीमा १० वर्षसम्म विद्याध्ययन गरे । षडानन्दले मिथिला प्रदेशका धेरै विद्वान् पण्डितको सान्निध्यमा संस्कृत भाषाको राम्रो अध्ययन गर्नुका साथै संस्कृत व्याकरणको पनि गहन अध्ययन गरे । धर्मज्ञ तथा कर्मकाण्डी विद्वान्को सङ्गतमा चण्डी, गीता, ज्योतिषशास्त्र तथा वेद अध्ययनकै क्रममा त्यहाँबाट यिनी बनारस गए । बनारसमा यिनले मुमुक्षु भवनमा बसेर पढेका हुन् । त्यहाँ आफ्नो अध्ययन अझ गहन बनाए उनले ।
सन्दर्भ, १८८ औ बालागुरु षडानन्द जन्मजयन्ती ।
बालागुरु षडानन्दले १९३२ साल चैत्र शुक्ल रामनवमी, सोमबार शुभ–साइतमा दिङ्ला भन्झ्याङको रमणीय उच्चस्थल कैलाशमा स्थानीय जनताको सक्रिय संलग्नतामा नर्मदेश्वर शिव मन्दिर निर्माण गरी विद्यालय स्थापना गरे । प्रारम्भमा आफैँले अध्यापन पनि गरेका थिए । त्यस पाठशालामा गुल्मी, सल्यान, प्युठानसम्म र भारतको आसाम तथा सिक्किमका समेत विद्यार्थी आएर अध्ययन गर्थे । जनस्तरबाट व्यवस्थित यो विद्यालय नेपालको पहिलो विद्यालय हो ।
……………………………………………………………………………………………………………………………………..
बनारसमा षडानन्दले अध्ययनका साथै योगसाधनासमेत गरे । योग साधनाका क्रममा उनले भारतका विभिन्न स्थानको भ्रमण गरेका थिए । षडानन्दका त्यस बेलाका शिष्यहरूको भनाइअनुसार यिनले चौबिस पटक गायत्री पुरश्चरण गरेका थिए । यसै क्रममा यिनले बागमती किनार, पत्थर, घट्टामा बसी तपस्या गरेका थिए भनिन्छ । यिनले देवघाट हुँदै केही वर्ष पोखराको सेती किनारमा बसेर पनि अष्टाङ्ग योग–साधना गरेको चर्चा सुनिन्छ । यिनी एउटै थलोमा तीन वर्षसम्म बसेर अनेक कष्टप्रद साधना तथा तपस्या गर्थे भन्ने भनाइ छ ।
यिनी पट्टल बाँधेर योग–साधनामा रहँदा भुईंबाट एक हातमाथि आकाशमा समेत उठ्थे भनिन्छ । यिनी आफ्नो अध्ययन पूरा गरी योग–साधकका रूपमा स्थापित भएपछि आजीवन ब्रह्मचार्यमा रहेर मातृभूमिका लागि केही गर्न १९३१ सालमा आफ्नो जन्मस्थल दिङ्ला फर्के ।
विद्यालय स्थापना :
बालागुरु षडानन्दले १९३२ साल चैत्र शुक्ल रामनवमी, सोमबार शुभ–साइतमा दिङ्ला भन्झ्याङको रमणीय उच्चस्थल कैलाशमा स्थानीय जनताको सक्रिय संलग्नतामा नर्मदेश्वर शिव मन्दिर निर्माण गरी विद्यालय स्थापना गरे । प्रारम्भमा आफैँले अध्यापन पनि गरेका थिए । त्यस पाठशालामा गुल्मी, सल्यान, प्युठानसम्म र भारतको आसाम तथा सिक्किमका समेत विद्यार्थी आएर अध्ययन गर्थे । जनस्तरबाट व्यवस्थित यो विद्यालय नेपालको पहिलो विद्यालय हो ।
गुठी व्यवस्था :
कुनैपनि कुराको निर्माण गर्नु तथा कुनै परम्पराको थालनी गर्नु जति चुनौतीपूर्ण हुन्छ, त्यति नै त्यसको संरक्षण तथा अनन्तकालसम्म सञ्चालन गर्ने व्यवस्था पनि चुनौतीपूर्ण हुन्छ। षडानन्दले स्थापित मन्दिर, विद्यालय, पुस्तकालय, बगैंचाको संरक्षण होस् भनेर एउटा बृहत् गुठी पनि स्थापना गरे । गुठीका नाममा लालमोहर पनि गराए । त्यतिबेला हजार, १२ सय मुरी अन्न उब्जनी हुने गुठी व्यवस्था गरे । २०३६ सालको नापीअनुसार यो गुठीको क्षेत्रफल एक हजार सात सय ५३ रोपनी थियो । यिनले त्यो खेतको आम्दानीबाट मन्दिर संरक्षण र पूजनादि कार्य गर्ने, त्यसको आम्दानीबाट अध्यापकलाई पारिश्रमिक तथा विद्यार्थीलाई छात्रवृत्ति दिने, टहलुवा, नगर्ची आदि कामदारलाई पारिश्रमिक दिने, पर्व पर्वमा हुने विशेष पूजा र पुराण प्रवचनका लागि खेतबाट यति खर्च बेहोर्ने आदि कुरा खुलाएर स्पष्टसँग शिलापत्र, ताम्रपत्र आदिमा लेखेर राख्ने व्यवस्था गरे । यस्तो अभिलेख राख्न काठमाडौंबाट कलाकार रत्नमान शाक्य ल्याइ गुठीयार, दाताहरूको विवरण शिलालेखमा अङ्कित गराए ।
विद्यालय स्थानान्तरणः
विद्यार्थी सङ्ख्या बढ्न थालेपछि १९५५ सालमा कैलाश डाँडाबाट विद्यालयलाई भन्झ्याङको समतल र केही फराकिलो ठाउँमा स्थानान्तरण गरियो । त्यसपछि सोही विद्यालय परिसरमा उत्तरतर्फको चोकमा गुम्बज शैलीका कलात्मक दुई गुम्बज जोडिएका युग्म मन्दिरमा पूर्वपट्टि शिवपाञ्चायनका रूपमा षडेश्वर र पश्चिमपट्टि राम मन्दिर निर्माण गरी तिनमा शिवलिङ्ग तथा राम, सीता र लक्ष्मणका मूर्ति स्थापना गरिए । यी मूर्ति षडानन्द आफैले भारतको हरिहर क्षेत्र तथा उज्जैनबाट ल्याएका हुन् भन्ने बुढापाकाको भनाइ छ । मन्दिर परिसरमा नन्दी र हनुमानका ठूला प्रस्तर मूर्तिका साथै कीर्तिमुख भैरवको समेत स्थापना गरेका थिए ।
समतल क्षेत्रमा स्थापित विद्यालय र मन्दिर एउटै परिसरमा एकीकृत थिए । यो परिसरलाई तीन चोकमा विभाजन गरी निर्माण गरिएको देखिन्छ । सबभन्दा पछाडि उत्तरतिरको पहिलो चोकमा राम मन्दिर र शिव मन्दिर थिए । त्यसको उत्तर र पूर्वमा झिंगटीले छाएका तीनतले छात्राबास भवन थिए । बीचको चोकको माझमा मण्डप र त्यसको पूर्व र पश्चिममा पनि झिंगटीकै छानो भएका तीनतले छात्राबास भवन थिए । त्यही चोकको उत्तर र मन्दिर चोकको दक्षिणतिरको तीनतल्ले भवनको भुईंतल्लामा वेदाध्यायीहरूका लागि फलेक छापिएको खुला कक्ष थियो । त्यसको माथिल्लो तल्लामा भने भण्डार थियो, जसलाई जगेडा घर पनि भनिन्थ्यो । घरको भुईलल्लाको पूर्वपट्टि नगरा राखिएको थियो । चोकभन्दा बाहिर दक्षिणपट्टि अर्को ठूलो चोक थियो, जसलाई पूर्व–पश्चिम लम्बाइको झिंगटीको छानो भएको एकतल्ले पुराणशालाले छुट्याएको थियो । यसभन्दा बाहिरी चोकको पश्चिमपट्टि दुईतल्ले भवन बनाएर दुवै तल्लामा कक्षा सञ्चालनको व्यवस्था गरिएको थियो । चोकको पूर्वपट्टि राधाकृष्ण मन्दिर तथा अन्य स–साना मन्दिरका साथै शिवलिङ्ग स्थापना गरिएका थिए । राधाकृष्ण मन्दिरभन्दा दक्षिण–पूर्वपट्टि विद्यालय परिसर प्रवेश गर्नेबित्तिकै एउटा झिंगटीले छाएको तीनतल्ले कलात्मक धर्मशाला (पाहुना घर) थियो । चोकको बीचको भाग चाहिँ खुला र फराकिलो थियो, जसलाई धान्य पर्व, तोलादान, यज्ञजस्ता कर्मका लागि प्रयोग गरिन्थ्यो । विद्यालय आसपास र झन्झ्याङ बजारको छेउमा गुम्बज शैलीमा सरस्वती मन्दिर, गणेश मन्दिर तथा लक्ष्मी मन्दिरसमेत बनाइएको थियो । यो योजनाबद्ध निर्माण गरिएको बहत्तर संरचना अहिले पनि भत्के बिग्रेको अवस्थामा छदैछ ।
भौतिक सम्पदाको निर्माण :
विद्यालय र मन्दिर परिसरको पश्चिमपट्टि षडानन्दले एउटा विशाल बगैंचा पनि निर्माण गराएका थिए । त्यो बगैंचामा विभिन्न जातका फलका बिरुवा, विभिन्न याममा फुल्ने फूल, स्थानीय जङ्गलमा पाइने विभिन्न बोट बिरुवा विभिन्न स्थानबाट झिकाएर लगाइएका थिए । भनिन्छ, त्यस बगैंचामा एक हजार आठ प्रजातिका बोट बिरुवा रोपिएका थिए । षडानन्दले झन्झ्याङ बजार परिसरको बाहिरी बगैंचामा सुन्दर पार्वतीकुण्ड (ठूलो पोखरी) निर्माण गराए । कुण्डमा विभिन्न जातका रङ्गीचङ्गी माछा पालिएका थिए । बाहिरी र भित्री बगैंचामा सीताकुण्ड, गौरीकुण्ड, हनुमानकुण्ड आदि निर्माण गराएका थिए ।
विद्यालय र मन्दिर परिसरको पूर्वमा रहेको नारायण चौरको नजिकमा नारायण धारा तथा भन्झ्याङबाट फालिकोटतिर जाने बाटामा रामधारा र लक्ष्मणधाराजस्ता धारा पनि बनाइएका थिए । उनले सामूहिक, सामाजिक तथा सांस्कृतिक गतिविधि सञ्चालन गर्न चौर र गौचरनको पनि व्यवस्था गरेका थिए । तीमध्ये नारायणचौर र गौचरन अझै पनि छँदैछन् । षडानन्दले विद्यालय आउन जानका लागि आसपासमा बाटो निर्माण गराए । मन्दिर परिसरदेखि झन्झ्याङ बजारसम्म ढुङ्गा छापेर मोटर दौडन सक्ने खालको फराकिलो बाटो बन्यो । नारायणधारा, रामधारा जाने आउने बाटो र गडीगाउँदेखि हुँडिखेलको नजिकबाट झन्झ्याङ आउने चौडा बाटोसमेत यिनकै निर्देशनमा बनेका थिए ।
मेला, व्यापारः
बालागुरु षडानन्दले दिङ्ला भञ्ज्याङ्गमा बजार बसाए । झन्झ्याडमा बालाचतुर्दशीका दिन सदमी मेला लाग्ने गर्छ । यो दिन दिवङ्गत आत्माको शान्तिका लागि रथयात्रासहित शतबीज छर्ने चलन छ ।
समाज सुधारः
बालागुरु षडानन्दले समाज सुधारका क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका छन् । यिनले दिङ्ला र त्यसको आसपासका क्षेत्रमा १९४० सालतिरै सतीप्रथा उन्मूलन गराएका थिए । छुवाछुत प्रथा गलत हो भन्ने सन्देश पनि प्रचार गरेका थिए । राज्यबाट सतीप्रथा र दासप्रथा उन्मूलन गर्ने प्रेरणा चन्द्रशमशेरले यिनैबाट पाएका थिए भनिन्छ ।
सदाचार शिक्षा :
विद्यालयबाट अध्ययन गरेर शिक्षा हासिल गर्नु त छँदैछ, आध्यात्मिक एवम् नैतिक ज्ञानसमेत थप दिई समाजमा सदाचार फैलाउने उद्देश्यले चौमासा पुराण र पर्व पर्वमा पुराण तथा नैतिक प्रवचन दिने व्यवस्थासमेत भएको थियो ।
सिद्धिप्राप्त ब्रह्मचारी :
यिनका विषयमा अनेक किंवदन्ती छन् । यिनी आज काठमाडौंमा थिए भने भोलिपल्ट दिङ्लामा हुन्थे भनिन्छ । अरुण नदीमा रुमाल बिछ्याएर नदी पार गर्थे पनि भनिन्छ । कतिपय त यिनको गायत्री जप गर्ने कोठामा गायत्री मातासँग साक्षात् वार्ता भएको हामीले पनि सुनेका थियौं भन्ने पनि थिए रे ! त्यस्तै यिनको अन्तिम अवस्था बितेको काठमाडौं, टेकुको पचलीघाटमा बागमती नदीमा वर्षाको भेल आएका बेला पनि खराउ लगाएर पानीमाथि हिँड्दै नदी वारपार गर्थे भन्ने पनि विश्वास गरिन्छ ।
यिनी योग साधानारत रहेरै दिवङ्गत हुनु, त्यतिखेरको समयमा पनि राष्ट्रले गर्न नसक्ने सुधार तथा विकास निर्माण कार्य गरिनुले उनमा विशिष्ट सिद्धि थियो भन्नुमा दुईमत रहँदैन । यिनको ख्याति तथा सिद्धिबाट तत्कालीन शासकहरू पनि परिचित थिए । तत्कालीन शासक पनि सिद्धपुरुष षडानन्दका भक्त थिए । त्यसैले षडानन्दले भने गरेका सामाजिक कार्यमा तत्कालीन शासकबाट लालमोहर गरिदिएको देखिन्छ । उनले गुठीको लालमोहर १९३५ सालमा नै गराएका थिए । त्यति मात्र होइन, राणा शासकहरू ब्रह्मचारी षडानन्दको अनुशरण गर्नु आफ्नो धर्म ठान्दथे ।
१९६६ सालमा धर्मपत्रिका मार्फत् आफ्नो सिर्जना विद्यालय, मन्दिरको पूजापाठ, मेलापर्व आदि सञ्चालनको सम्पूर्ण व्यवस्था मिलाएपछि उनी काठमाडौंको टेकु, पचलीघाटमा अवस्थित आश्रममा फर्किए । १९७३ सालको जेष्ठ शुल्क त्रयोदशीका दिन योग साधनामा रहँदा रहँदै ब्रह्मलीन भए ।(लेखक , बालागुरु षडानन्द प्रतिष्ठानका महासचिव हुन् । )