झिलझिले ,१३ मंसिर । झापाको शताक्षीधाममा ८७ धारा थपिएको छ ।शताक्षीधाम आउने तीर्थालु भक्तजनका लागि स्नान गर्न मिल्ने धारा निर्माण भएको शताक्षीधाम मन्दिर तथा पर्यटकीय विकास संस्थाले जनाएको छ । समितिका उपाध्यक्ष उदयप्रकाश राईका अनुसार शतासी धारामा स्नान गरेपछि दिगम्बेश्वर महादेवको मन्दिर र शाकम्बरी शताक्षी देवीको मन्दिरमा पूजा अर्चना गर्न सकिनेछ । ८७ धाराको बिहीवार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन् । उनले ८७ धाराबाट बग्ने जल अभिषेक गर्दै धाराको उद्घाटन गरेका हुन् ।
पौराणिक कथासँग जोडिएको यो धामको वास्तविक नाम शताक्षी हो। “शताक्षी“ शब्दको अर्थ हुन्छ सय आँखा भएकी देवी । शताक्षीको व्याख्या विभिन्न धार्मिक र सांस्कृतिक सन्दर्भमा जोडिएर आउने धार्मिक गुरुले बताएका छन्।
हिन्दू धर्ममा, “शताक्षी“ को अर्थ एक विशेष देवीको रूपको रूपमा लिइन्छ । जसको धेरै आँखाहरू हुने विश्वास छ । यी आँखाहरूले संसारभरका घटनाहरूमा नजर राख्न सक्ने क्षमता राख्ने प्रतीकात्मकता जनाउँछन् । यसका साथै, “शताक्षी“ शब्दको प्रयोग सामान्यतया ती शक्तिशाली देवता वा देवीलाई जनाउन गरिन्छ जसको दृष्टि सर्वव्यापी र सबैतिर फैलिएको मानिन्छ ।“शताक्षी“ को अर्थ र उपयोग संस्कृत र हिन्दू धार्मिक काव्यमा पनि पाएको छ ।
८७ भन्नाले ८६ र ८८ को बीचमा हुने अङ्कलाई बुझाउँछ। सताक्षी धाममा निर्माण भएको ८७ धाराले संख्या बुझाएको स्थानीयवासीले बताए । दिगम्बेश्वर महादेव र शाकम्बरी सताक्षी मन्दिर नजिकैको शताक्षी गंगाको पानी ल्याएर ८७ धारामा जडान गरिएको छ ।
तर यो धारालाई मुक्तिनाथमा भएका १०८ धारा पछिको दोस्रो मुक्तिनाथको धारा भएको गौसंरक्षक घनश्याम शास्त्रीले बताए । उनले शताक्षीधाम धार्मिक ऐतिहासिक र पर्यटकीय स्थल मात्र नभएर दोस्रो मुक्तिनाथको रूपमा स्थापित भएको बताए । शताक्षी नदीको तटीय क्षेत्रमा यो धारा निर्माण भएकोले पनि यसको महत्व ओझपूर्ण भएको उनले बताएका छन् ।
चारैतिर चुरे पहाडले घेरेको नदीको तटीय क्षेत्रमा यो धारा निर्माण भएपछि शताक्षीधाम आएका धार्मिक पर्यटक फोटो भिडियो बनाउन थालेका छन् । पछिल्ला समयमा शताक्षीधाम क्षेत्रमा स्थायी पूर्वाधारहरू निर्माण भइरहेका छन्। मुख्यमन्त्री कार्कीले धाम क्षेत्रमा अतिथि गृहको शिलान्याससमेत गरेका छन् । तीन तलाको हुने भवन स्थानीय तह, प्रदेश सरकार र दाताहरूको सहयोग लिएर निर्माण गरिने धाम समितिले जनाएको छ ।
गोलोक गोवर्धन गौशालाका संरक्षक आचार्य नन्दकिशोरजी महाराजले उक्त भवन निर्माण सहयोगार्थ १० लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरे । मुख्यमन्त्री कार्कीले कागजी प्रक्रिया पूरा भएपछि भवनको निर्माण सुरु हुने बताए । उनले भने,‘समय ठ्याक्क भन्न सकिँदैन । तर यो अतिथि गृह अवश्य निर्माण हुन्छ ।’
कार्यक्रममा ८७ धाराका दातालाई सम्मान गरिएको थियो। समितिका सचिव कालीप्रसाद रिजालले ८७ धारा निर्माणको लागि दाताबाट सङ्कलन भएको रकमको विवरण यकिन नभएको बताए । ‘दाताले दिएको रकम र धारा निर्माणका लागि खर्च भएको रकमको विवरण यकिन भएको छैन ।’ दाताले कबुल गरेको केही रकम सङ्कलन हुन बाँकी रहेकाले यकिन नभएको उनले बताए ।
कार्यक्रम समितिका अध्यक्ष तुलाराम बोखिमको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश सभाका सदस्य राधाकृष्ण खनाल, शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा लगायतका जनप्रतिनिधि, स्थानीयहरुको सहभागिता थियो।