झापा,१३ मंसिर । झापाको शिवसताक्षी नगरपालिकामा एकैसाथ एक सयभन्दा बढी प्रजातिका रैथाने धानको बीउको प्रयोगबाट धान उत्पादन गरिएको छ । कञ्चन जैविक विविधता संरक्षण तथा विकास समितिले लोपोन्मुख अवस्थामा पुग्न लागेका रैथाने धानको बीउ उत्पादनका लागि एकै ठाउँमा नमुना प्रयोग गरेको थियो ।
शिवसताक्षी नगरपालिका ७ मा सय ७ प्रजातिको लोपोन्मुख धानको बीउ उत्पादन गर्न सफल बनेको समितिका अध्यक्ष डिल्लीराम अधिकारीले जानकारी दिए । एकदशक अघिदेखि आफूहरुले रैथाने धानको क्षेत्रमा काम गर्दै आएको र यो सफल बन्दै गएको उनले जनाए ।
नेपालमै सबैभन्दा धेरै प्रजातिको धान एकैठाउँमा प्रयोग भएको यो नै पहिलो हुनसक्छ, व्यवस्थापक अधिकारीले भने । सबैको साथ र सहयोगले यो सफल भएको पनि उनको भनाई छ । उनका अनुसार मार्सी धानको समेत यहाँ प्रयोग गर्दा प्रतिफल राम्रो आएको छ । पश्चिममा मात्र खेती हुने भनिएको मार्सी पनि यहाँ राम्रो फल्ने उनले दावी गरे ।
उन्नत बीउ खोजी गर्दा पुराना रैथाने बीउ लोप बन्दै गएको बेला बीज संरक्षण तथा परिक्षणको क्षेत्रमा आफूहरुले काम गर्दै आएको समितिकी व्यवस्थापक जमुना मगरले बताईन् । आफूहरुले धानको बीउ बैंक स्थापना गरेर किसानहरुलाई सहज रुपमा चाहेको धानको बीउ उपलब्ध गराउने गरेको उनको भनाइ छ ।
झापामा धान खेतीका लागि उर्वर रहेको र सबैभन्दा बढी धानखेती हुने गरेको जनाउँदै रैथाने धान उत्पादनमा यसले टेवा पुग्ने अपेक्षा लिइएको उनले बताईन् । आफूहरुले राम्रो बीउ उत्पादन गरेपछि यसमा किसानहरु आकर्षित भएर पछिल्लो समयमा कालो नुनिया धान उत्पादन बढेको उनको दाबी छ ।
जिल्लामा वर्षेनी एक लाख हेक्टरमा धानखेती हुँदै आएको छ । यसबाट करिब ४ लाख ५० हजार मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।
सुनसरीका किसानलाई मकै र गहुँ छर्न भ्याइनभ्याइ
जिल्लाको सदरमुकाम इनरुवासहित कोशी, भोक्राहा, हरिनगर, बर्जु, गढी, देवानगञ्ज, रामधुनीलगायत क्षेत्रका किसानले धान भित्र्याएसँगै अहिले मकै र गहुँ छर्न व्यस्त छन् । धानपछि उत्पादन बढी हुने मकै र गहुँ छर्न यतिबेला यहाँका किसानलाई भ्याइनभ्याइ छ ।
इनरुवा–९ बबियाका जसलाल यादवले चार बिघामा धानखेती गरेका थिए । उनले करिब रु एक लाख लगानी गरी चार बिघामा धानखेती गरेको बताउँदै धान थन्काएपछि मकै र गहुँ छर्ने बताए । गत वर्षभन्दा यस वर्ष धान ढिलो पाकेकाले अहिले बाली भित्र्याउने व्यस्तता बढेको उनको भनाइ छ । दुई बिघामा मकै र दुई बिघामा गहुँ लगाउने उनले जानकारी दिए ।
दसैँअघि धान भित्र्याउनुपर्नेमा समयमा धान नपाकेकाले अहिले उनलाई भ्याइनभ्याइ भएको हो । पाकेर घर भित्र्याउने समयमा पानी र असिनाले धान नष्ट गर्ने चिन्तासहित हतारमा बाली भित्र्याउन थालेको स्थानीय किसान रामचन्द्र यादवले बताए । धानसँगै मकै र गहुँ छर्नुपर्ने भएकाले धान भित्र्याउन हतार भएको अर्का किसान वीरेन्द्र यादवले बताउँछन् ।
सुनसरीमा ४८ हजार नौ हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएकामा ९० प्रतिशत किसानले धान भित्र्याएर गँहु र मकै बाली लगाउन खेत तयार गर्न थालेका जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले बताए ।