दमक,१२ मंसिर । सामाजिक क्षेत्रमा क्रियाशील महिलाहरुको संस्था सुन्दर समाज नेपालको आयोजनामा आज सोमबार इलाका प्रहरी कार्यालय दमकको हिरासतमा रहेका थुनुवाहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।
इलाका प्रहरी कार्यालय दमकको व्यवस्थापन तथा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत भएको उक्त शिविरमा ३ महिलासहित ३० जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै औषधीहरु समेत वितरण गरिएको थियो ।
शिविरमा एड्भान्स अस्पतालका डा. रोज बस्नेत लगायतका स्वास्थ्यकर्मीहरुको टोलीले स्वास्थ्य जाँच गरेको सुन्दर समाज नेपालकी अध्यक्ष लक्की सिटौलाले बताईन् । परीक्षणका क्रममा थुनुवाहरुमा रुघाँखोकी,ज्वरो, उच्चरक्तचाप लगायतका स्वास्थ्य समस्या देखिएको जानकारी दिईन् ।उनले थुनुवाहरुको स्वास्थ्य समस्यालाई लक्षित गरि आगामी दिनमा यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताईन् ।
शिविरमा ईप्रका दमकका प्रमुख प्रहरी नायव उपरीक्षक दिलिप कुमार गिरी , समाजकी कोषाध्यक्ष झरना लक्सम देवान, सदस्य कुसुम ढुंगेल लगायतको उपस्थिति रहेको थियो ।
संस्था दर्ता प्रकृयामा
तीन वर्षदेखि सामाजिक कार्यमा सक्रिय उक्त संस्थालाई विधिवत दर्ता प्रकृयामा लैजाने तयारी गरिएको छ । सामाजिक कार्यमा सेवा पुरयाँउने उद्देश्यले रुपा सेलिङ्गको अध्यक्षतामा गठन गरिएको संस्था अव भने संस्था दर्ता नियमानुसार दर्ता प्रकृया अन्तिम चरणमा पुगेको हो ।
संस्था सामाजिक कार्यमा सक्रिय अगुवाई गरिआएकी लक्की सिटौलाको अध्यक्षतामा दर्ता प्रकृया अन्तिम चरणमा पुगेको बताईएको छ । युवा व्यवसायी सिटौला दमक उद्योग वाणिज्य संघकी कार्यसमिति सदस्य लगायतका सामाजिक क्षेत्रमा संलग्न छिन् । सिटौलाले संस्था अव एक,दुई दिन भित्रमा सरकारी अनुमति पाउने बताईन् । संस्था दर्ता पछि थप गतिविधि तीव्र पारिने उनले सुनाईन् ।