खयरबारीमा मुक्तिघाटमा निर्माण हुने

दमक ,१० मंसीर । जिल्लाको कमल गाउँपालिका -६ स्थित खयरवारीमा मुक्तिघाट निर्माण गरिने भएको छ । खयरबारी युवा क्लवको सक्रियतामा त्यहाँ व्यवस्थित मुक्तिघाटसहित मलामीका लागि बिश्रामस्थल निर्माण गरिने भएको क्लवका अध्यक्ष राम शाही ठकुरीले बताए ।
मंगलवार विवाह पञ्चमीको विशेष अवसर पारेर भूमि पूजन तथा शिलान्यास कार्यक्रम सम्पन्न गरेको हो। शिलान्यास कमल- ६ का वडाअध्यक्ष नरेन्द्र भटटराई, वडा सदस्य ओम पराजुली तथा जग्गादाता रत्नकुमारी खनालले संयुक्त रुपमा गरे ।
क्लबका अध्यक्ष ठकुरीका अनुसार घाटसंगै मलामी विश्राम कक्ष र आवश्यक सामग्री भण्डारणका लागि स्टोर कक्ष पनि निर्माण गरिने छन् ।

क्लवले घाटसहित ती संरचना निर्माण गर्न दशैंमा चिठ्ठा कार्यक्रम, तिहारमा खेलिएको देउसी–भैलो तथा स्थानीयवासी, शुभचिन्तक र सहयोगी संस्थाहरुबाट स्वेच्छिक सहयोग जुट्ने अपेक्षा गरिएको उनले बताए ।
रतुवा नदी किनारको पूर्वी तटमा घाटसहित विश्रामस्थल निर्माण गर्न करिव २० लाख रुपैया लाग्ने अनुमान गरिएको छ । घाट निर्माण गर्न दाता खनालले एक कठठा जमीन दिएकी छन् ।
यसैवीच , क्लवले शुरु गरेको उक्त योजना पूरा गराउन विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम शुरु भएको छ । त्यसका लागि जर्मनीमा बस्दैआएका सोहि ठाँउका सुन्दर शाहीले ४० हजार १ सय ५१ , इन्द्रसहित निर्मला भण्डारीले २६ हजार १० रुपैया सहयोग प्रदान गरेको क्लवले जनाएको छ ।शिलान्यास कार्यक्रममा टोल विकास संस्था, स्थानीय संघ–संस्था, समाजसेवी तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published.