दमक,१० मंसिर ।दमक ८ मा आज शनिवार मुटु ,मिगौला, उच्चरक्तचाप रोगको पहिचान गर्न निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।नेपाल रेडक्रस सोसाईटी दमक उपशाखाले सञ्चालन गरिआएको केएचडीसी कार्यक्रम अन्तर्गत शनिवार दमकका यातायात मजदुरहरुलाई लक्षित गरि शिविर सञ्चालन गरिएको हो । यहाँ कार्यक्रम सफल बनाउन जीवन चक्र समाज नेपालले सहजीकरण गरेको समाजका अध्यक्ष गणेश गौतमले बताए । उनका अनुसार शिविरमा १०७ जनाको रगत तथा पिसाव जाँच गरिएको थियो ।
शिविरमा जाँच गरि रोग पहिचान भएका विरामीको विपीका बरिष्ठ मुटु तथा मिगौला रोग बिशेषज्ञ प्रा.डा. सञ्जीव शर्मालगायतको चिकित्सकहरुको टोलीले स्वास्थ्य परामर्शसहित उपचार गर्ने उक्त कार्यक्रमका संयोजक घनश्याम कोइरालाले बताए ।
रगत र पिसाव परीक्षणबाट मुटु ,उच्चरक्तचाप,मधुमेह , मिगौला लगायतका रोगको उपचार गर्ने उद्देश्यले विगत एकवर्ष देखि पाक्षिक रुपमा सञ्चालन हुदै आएको उनले जानकारी दिए ।
उक्त कार्यक्रम सञ्चालन गर्न धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्राविधिक सहयोग पुरयाँउदैआएको छ भने दमक नगरपालिका दमकले सहयोग गरिआएको छ ।
शिविर उद्घाटनमा दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई प्रसाईं वडा नम्बर ९ अध्यक्ष कुबेर भट्टराई , नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका सभापति प्रकाश बुढाथोकी ,निवर्तमान सभापति लिला गुरागाई लगायतको समेत उपस्थिति रहेको थियो ।