सताक्षीधाममा दश दिने गोरक्षा महोत्सव हुने

झिलझिले ,१० मंसिर । झापाको धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा सताक्षी गोरक्षा महोत्सव तथा महायज्ञ -२०८१ आयोजना हुने भएको छ । सताक्षीधाम गोलोक गोवर्धन गौशाला तथा सताक्षीधाम धार्मिक तथा पर्यटन विकास समिति शिवसताक्षी–११ को संयुक्त आयोजनामा यहि मंसीर १४ गतेदेखि २४ गतेसम्म महायज्ञ आयोजना हुने भएको हो । सोमवार दुवै आयोजक संस्थाले पत्रकार सम्मेलन गरी गोरक्षा महोत्सवको तयारीका बारेमा जानकारी दिइएको हो ।
सोही महायज्ञ अन्तरगत पञ्चकुण्डिय श्रीरुद्र महायज्ञ, श्रीतुलसी शालिग्राम, श्री सीताराम विवाह तथा लिंग महापुराण कथा प्रवचन, ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिंगमा विशेष अर्चना गरिने आयोजक संस्थाले जनाएको छ ।
गौशलाको बार्षिकोत्सवका अवसर पारेर १२ दिने महायज्ञसहित बिभिन्न कार्यक्रमको आयोजना गरिएको गौशलाका आचार्य पं. नन्दकिशोर भारद्धाजले जानकारी दिए ।
उनका अनुसार मंशीर १४ गते अखण्ड हरिनाम संकीर्तन प्रारम्भ, १५ गते बालचतुर्दशी उत्सव सतबिउ रोपण, १६ गते बिद्धत सम्मेलन तथा भण्डारा, १७ गते अनुष्ठान प्रारम्भ, पञ्चकुन्डिय श्री रुद्र महायज्ञ तथा ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिंगमा बिशेष अर्चना, रुद्री पाठ तथा श्रीलिंग महापुराण प्रारम्भ हुनेछन् ।
यसैगरी मंसीर १८ गतेदेखि नियमित पञ्चक्ण्डीय महायज्ञ तथा रुद्री पाठ एवं श्री लिंग महापुराण प्रवचन, २० गते झापाका सामुदायिक बिद्यालयका छात्रहरुबाट गोरक्षाको आवश्यकतामाथि प्रतिस्पर्धात्मक बिचार गोष्ठी, २१ गते विवाह पञ्चमी, श्री सिताराम, तुलसी शालिग्राम विवाह महोत्सव, २२ गते कनकाई मातामा दुग्धाभिषेक, २३ गते नेपाल प्रहरी तथा उत्कृष्ट गौसेवक सम्मान र २४ गते गोरक्षा महोत्सवसहित धार्मिक कार्यक्र सम्पन्न हुनेछ ।
लिंग महापराण कथा प्रवचक विद्धत्वरेण्य आचार्य पं. लक्ष्मीप्रसाद खतिवडा पाठपारायण आचार्य पं. मदनमोहन अधिकारी रहने बताइएको छ । हाल गौशालामा ६६२ वटा गाईबाछा छन् भने बाहिर २१६० रहेको आचार्य पं. भारद्धाजले बताए । गौशालाका लागि १५ जना कर्मचारी र गाईबाछाको आहाराका लागि मासिक ५ देखि ६ लाख खर्च हुदै आएको उनले बताएका छन् ।
गौशालाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बेदप्रकाश अग्रवालको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सचिव मदनमोहन अधिकारीले गरेका थिए । कार्यक्रममा गौशाला प्रमुख घनश्याम खनाल शास्त्री, कार्यसमिति सदस्य कृष्ण खरेललगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published.