झापा, ७ मंसिर । विश्वकप फुटबलमा जापानले उपाधि दाबेदार मानिएको जर्मनीलाई हराएको छ ।आज बुधवार कतारको खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा भएको खेलमा जापानले जर्मनीलाई २–१ को गोल अन्तरले हरायो । खेलमा १ गोलले पछि परेको अवस्थामा जापानले पुनरागमन गर्दै २–१ को जित निकालेको हो ।
खेलको ३३ औँ मिनेटमा जर्मनीका लागि इल्काए गुन्डोगनले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएको थिए । पहिलो हाफमा जर्मनी १–० ले अघि रहेको थियो ।
तर जापानले दोस्रो हाफमा २ गोल फर्कायो । जापानका लागि खेलको ७५ औँ मिनेटमा रित्सु डोन र ८३ औँ मिनेटमा तकुमा ओसनाले गोल गरे ।यो जितसँगै समूह ई मा रहेको जापान ३ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । जर्मनी भने तालिकाको पुछारमा रहेको छ ।
विश्वकपको सुरुवाती दुई खेलमा आयोजक कतार र इरान पराजित भए पनि त्यसयता एसियन राष्ट्रले उपाधि दाबेदार ठूला टिमलाई स्तब्ध पारेका छन् । मंगलबार मात्रै साउदी अरेबियाले अर्जेन्टिनालाई २-१ ले पराजित गर्दै सनसनी मच्चाएको थियो ।
एक दिन पछि नै जापानले जर्मनीमाथि अप्रत्याशित नतिजा निकाल्यो । अर्को पूर्व विजेता स्पेन र कोस्टारिका समेत रहेको यो समूह रोमाञ्चक बनेको छ । स्पेन र कोस्टारिकाबीच आजै बुधबार राती पौने १० बजे खेल हुँदैछ ।