शिवसताक्षी ,७ मंसीर । झापा शिवसताक्षीको दूधेमा यसवर्ष पनि चासोक तङनाम बृहत रुपमा मनाइने भएको छ । किराँत याक्थुङ चुम्लुङ र नालिफुङगो चुम्भोको संयुक्त आयोजनामा शिवसताक्षीको दूधे रंगशालामा परिसरमा मंसिर १३ गतेदेखि १८ गतेसम्म चासोक तङ्नाम पर्व मनाइने भएको हो । मंसिर १३ गतेदेखि मेला आयोजना गरिएको छ भने, १८ गते चासोकको मूख्य कार्यक्रम हुनेछ ।
चासोक तङ्नाम पर्वमा यस वर्ष याक्थुङ पाङबो (लिम्बू समुदायको परम्परागत बस्ती) झल्कने ३ ओटा मौलिक घर निर्माण गरिने किरात याक्थुङ चुम्लुङ अध्यक्ष विरबल जवेगुले जानकारी दिए । उनका अनुसार उक्त घर निर्माण सुरु भइसकेको छ ।
कार्यक्रम सबै समुदायहरुको साझा भएकाले च्याम्ब्रुङ नाच, सन्थाल नाथ, मारुनी नाच लगायत विभिन्न जातजातिका नाचहरु प्रस्तुत गरिने छ । धनुषकार्ड, छेलो हान्ने खेललगायतका प्रतियोगिताहरुको आयोजना गरिने अध्यक्ष जवेगुले जानकारी दिए । कार्यक्रममा लिम्बू जातिका भेषभुषा प्रदर्शनी, जातीय नृत्य, राष्ट्रिय कलाकार हिमाल सागर, सविना नेम्वाङ्ग लगायत स्थानीय बेन्डहरुको बजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
कार्यक्रम भव्य रुपमा सम्पन्न गर्न उपसमिति गठन गरिएको छ । जसमा १०१ सदस्यीय मुल समिति गठन भएको छ ।