झापा–५ ओली ,१ मा कांग्रेसका शर्मा विजयी

दमक,७ मंसिर । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले ) का अध्यक्ष केपी शर्मा ओली विजयी भएका छन् । निर्वाचन अधिकृत गणेश पाण्डेका अनुसार अध्यक्ष ओलीले ५१ हजार छ सय १९ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका डा.खगेन्द्र पाण्डव अधिकारीले २३ हजार दुई सय ३१ मत ल्याएका छन्।यसैगरि , राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेश कुमार पोखरेल (घण्टी ) का ११,७४९ मत प्राप्त गरेका छन् । अध्यक्ष ओली योसँगै छ पटक विजयी बन्न सफल भए । यसअघि उनी विसं २०४८, २०५१, २०५६, २०७० र २०७४ मा यही क्षेत्रबाट विजयी भइसकेका छन् ।
झापा–१ बाट महामन्त्री शर्मा विजयी
झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा वाम गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी भएका छन् । नेकपा (एमाले )का उम्मेदवार अग्नि खरेललाई १४ हजार दुई सय ७५ मतले पछि पार्दै शर्मा विजयी भएका हुन् । शर्माले ३९ हजार छ सय २४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी खरेलले २५ हजार तीन सय ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिए । शर्मा नेपाली कांग्रेसका महामन्त्री हुन् भने खरेल नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन् ।

Leave a Reply

Your email address will not be published.