ट्याक्टरसंग ठोक्किएर मोटरसाइकल चालकको मृत्यु

काकड्भिटटा, ७ मंसीर । झापाको मेचीनगरमा ट्याक्टरसंग ठोक्किएर एक जना मोटरसाइकल चालकको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा मेचीनगर –१५ बस्ने मोटरसाइकल चालक ३८ वर्षीय बिनोद राउत रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रहरीका अनुसार शनिवार साँझ ६ बजे मेचीनगर –१५ हेद्लुबारीस्थित भित्री सडकखण्डमा भद्रपुरबाट इटाभट्टातर्फ जाँदै गरेको प्र.१–०१–०१३ प. ३३३६ न.को मोटरसाइकलले रोडको साईडमा रोकिराखेको प्र.१–०१–००१ त. ९९७७ नम्बरको ट्याक्टरलाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक राउत र मोटरसाइकलमा पछाडि सवार २१ वर्षीय निश्चल भुजेल गंभीर घाइते भएका थिए ।

टाउको र शरीरको बिभिन्न भागमा चोट लागेर गंभीर घाइते दुवैजनालाई प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचारपश्चात् बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो । शनिवार साँझ ७ः४५ बजे बीएण्डसी अस्पतालमा घाइते राउतको उपचारको क्रममा मृत्यु भएको हो । घटनाका सम्बन्धमा ट्याक्टर र ट्याक्टर चालक मेचीनगर –१५ बस्ने ३० वर्षीय होप्ना हस्दालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.