झापा ,६ मंसिर । हरिबोधिनी एकादशी (तुलसी विवाह) को अवसरमा झापाका तीन पालिकाले भोलि बिहीबार स्थानीय बिदा दिएका छन् । । कचनकवल गाउँपालिकाले भने पर्सि शुक्रबार बिदा दिएका छन् ।
आदिवासी राजवंशी तथा अन्य बहुसङ्ख्यक समुदायले मनाउने हरिबोधिनी एकादशी पर्वको अवसरमा भद्रपुर नगरपालिका, बाह्रदशी गाउँपालिका र झापा गाउँपालिकाले हरिबोधिनी एकादशीकै दिन स्थानीय बिदा दिएका हुन् । कचनकवलले एकादशी सकिएको भोलि पल्ट बिदा दिएको गाउँपालिकाको सूचनामा उल्लेख छ । स्थानीय बिदाका दिन पालिका र पालिका मातहतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था, विद्यालय बन्द रहने सूचनामा उल्लेख गरिएको छ ।
हरिबोधिनी एकादशी वर्षमा पर्ने चौबीस वटा एकादशी मध्ये सबैभन्दा ठुलो एवं महत्वपूर्ण एकादशी हो । त्यसैले यसलाई ठुलो एकादशी पनि भनिन्छ । हिन्दु धर्ममा एकादशीलाई भगवान् विष्णुको उपासना गर्ने पर्वको रूपमा लिइन्छ । आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुत्नुभएका भगवान् विष्णु आजैको दिन उठ्नुहुने पुराणहरूमा उल्लेख गरिएको छ । यसैकारण पनि यस दिनलाई हरिबोधिनी एकादशी भनिएको हो भन्ने विश्वास गरिन्छ ।