कमल,६ मंसिर । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको कमल गाउँपालिकास्थित आदिवासी रंगशाला शिलान्यास भएको एक दशक नाघे पनि निमार्णको काम अगाडि बढ्न सकेको छैन् । तत्कालीन रक्षामन्त्री विद्यादेवी भण्डारीले ०६७ सालमा शिलान्यास गरेको उक्त रगंशालाको नामका विषयमा विवाद उत्पन्न भएपछि निर्माण कार्य अघि बढ्न नसकेको हो ।
आदिवासी जनजातिको ७४५ समाधि उत्खनन् गरेर बनाइने रंगशालाको नाम आदिवासी राख्ने सर्वपक्षीय निर्णय भएको थियो । तर केपी ओली सरकारले नाम परिवर्तन गरी मदन भण्डारी रंगशाला राख्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको थियो ।
लखनपुरमा रहेको आदिवासी रंगशालासँग अन्तर्राष्ट्रिय स्तरको बनाउन पुग्ने २३ बिघाभन्दा बढी जमिन छ । शिलान्यास गरिएको रंगशालामा झन्डै तीन करोड खर्च गरेर मैदान सम्याउने र बार हाल्नेभन्दा केही काम अगाडि बढेको छैन् । रंगशाला निर्माण नहुँदा स्थानीय तहमा खेल आयोजना गर्नु परे विद्यालयका मैदानको प्रयोग गर्नुबाहेक विकल्प छैन् ।
‘स्थानीय तहको कुनै पनि खेलकुद प्रतियोगिता गर्दा हामीले स्कुलको ग्राउन्ड उपभोग गर्नुपरेको अवस्था छ,’ खेलकुद विकास समिति कमल गाउँपालिका झापाका उपाध्यक्ष सुदीप थुलुङ राईले भने, ‘जहाँनेर कतिपय परिस्थितिमा बच्चाहरुको कक्षा चलिरहेका बेला पनि हामी कार्यक्रम गर्न बाध्य भएका छौं ।’
रंगशालाको अभावमा खेलाडीहरु सबैभन्दा बढी चिन्तित छन् । अभ्यासका लागि उपलब्ध हुनुपर्ने मैदान चौपाया चरिचरन र सवारी सिक्ने थलो बनेको छ । सक्दो चाँडो रंगशाला निर्माण गरिनुपर्ने भलिबलका पूर्व राष्ट्रिय खेलाडी रोशन दाहालको माग छ ।
संघीय सरकारले यस आर्थिक वर्षमा आदिवासी रंगशालाका नाममा बजेट विनियोजन गरेकाले निर्माण कार्य अघि बढ्ने आशा पलाएको आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठान झापाका कार्यवाहक अध्यक्ष दिपेनवाला राईको भनाइ छ ।रंगशाला निर्माणको काम द्रुत गतिमा अघि बढाएर समयमै सम्पन्न गर्न सके यसले खेल र खेलाडी दुवैको उत्थानमा ठूलो टेवा पुग्ने विश्वास गरिएको छ ।